२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

कोरोनाका कारण अर्घाखाँचीमा थप एकजनाको मृत्यु, मृतकको संख्या दुई पुग्यो



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ४ मा रहेको सार्वजनिक आधारभुत बिद्यालयको क्वारेन्टाइनमा बसेका ५७ बर्षीय यम प्रसाद खनाल मृतकको पिसिआर रिपोर्ट पोजेटिभ अर्थात कोरोना भएको आएको छ ।

योसंगै अर्घाखाँचीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयको बरिष्ठ अधिकृत पुष्पा थापाले बताउनुभयो ।

जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । बुधबार बिहान उपचार गरेर फर्किनेक्रममा खनालको मृत्यु भएको थियो । बुटवलबाट उपचार गरेर फर्कदै गर्दा बाटोमै मृत्यु भएपछि शवलाई मालारानी लगिएको थियो । तर, जेठ २३ गते स्वाब झिकेर जेठ २४ गते परिक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको स्वाव ल्यावबाटै हराएपछि रिपोर्ट आउँन ढिला भएको थियो ।

प्रयोगशालामा स्वाबको नमुना हराएपछि पुनः बिहीबार बिहान मृतकको शरीरबाट स्वाब निकालेर भैरहवा प्रयोगशालामा पठाईएको थियो । परिक्षणका लागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी ४ खनकै रातुका चौरको प्रतिक्षालयमा राखिएको छ । शव कुरेर मृतकका आफन्त र स्थानीय बसेका थिए ।

भारतबाट आएका उनी विगत १४ दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । घाटीको शल्यक्रिया समेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि बुटबल रिफर गरिएको थियो ।

बुटवलमा सामान्य उपचार पछि ज्वरो बसेको र घरमा गएर आराम गराउन अस्पतालले सल्लाह दिएपछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा बुधबार बिहान १० बजे मृत्यु भएको थियो । मृतकको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि शवलाई कसरी व्यवस्थापन गर्ने बिषयमा छलफल भैरहेको छ । मृत्यु भएको ३२ घण्टा पछि रिपोर्ट आएको हो । शवलाई लामो समयसम्म मालारानीको प्रतिक्षालयमा आफन्तले रिपोर्टको प्रतिक्षा गर्दै कुर्दै बसेका थिए ।

प्रदेश ५ मा तिन ओटा मात्र प्रयोगशाला भएकाले कोरोनाको चाँप बढ्न थालेपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा स्वाव नमुनाको चाङ लागेपछि बुधबार अर्घाखाँचीको २०९ जनाको स्वाव भरतपुर पठाईएको थियो ।

संक्रमितको संख्या बढ्दै जाने अर्को तर्फ नेपालभरी २० ओटा कोरोना प्रयोगशालाबाट स्वाको परिक्षण गर्दा धान्न नसकेपछि बिरामीको कतै स्वाव हराउने कतै रिपोर्ट आउँन ढिला हुने भईरहेको छ । कोरोनाको बिरामीको चाँपलाई न्यूनिकरण, नियन्त्रण गर्न नेपाल सरकारले नेपालका ७७ ओटै जिल्लामा पिसिआर प्रयोगशाला संचालनामा ल्याउन आवश्यक छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७ बिहिबार ००:००  ६ : १६ बजे