२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

पाल्पामा अनौठो गुफा, पुरातात्विक महत्व भेटाउन अध्ययन सुरु



पाल्पा ।
पाल्पाको अर्गलीस्थित रनुवामा अनौठो गुफाबारे अध्ययन सुरु भएको छ । करिब ४० मिटर लम्बाई मापन गरिएको उक्त गुफाभित्र ढुङ्गाका अनौठा प्रकृतिका आकृति रहेका छन् ।

लकडाउनको समयमा स्थानीय युवाहरुले गुफाबारे थप सोधखोज अघि बढाएपछि यसबारे चर्चा बढेको छ । स्थानीयहरुले धार्मिक क्रियाकलापसँग गुफालाई जोडेर हेर्ने गरेपनि यसभित्रको अवस्थाको बारेमा अहिलेसम्म खास तथ्य भने बाहिर आएको थिएन ।

स्थानीयको सोधखोज पछाडि गुफाको भित्रिभागसम्म पुगेर यसबारे अध्ययन सुरु भएको छ । यसै क्रममा गुफा प्रवेशलाई सहज बनाउन युवाहरुले भित्रको सरसफाईदेखि सिँढी निर्माणको काम गरेका छन् । स्थानीयले सिद्ध गुफा नाम दिएको यस गुफाको पुरातात्विक महत्वको बारेमा भने अझै पनि अध्ययन हुन बाँकी छ ।

तानसेन-रिडी-तम्घास सडकखण्डको अर्गलीस्थित देउराली बजारबाट डेढ किलोमिटरको दूरीमा उक्त गुफा पुग्न सकिन्छ । गुफा नजिकै बद्रीनारायण मन्दिर परिसर छ ।

नेपालकै चर्चित धार्मिक क्षेत्र रुरु नजिकै रहेकोले पनि यस गुफाबारे थप अध्ययन र चर्चा हुन सके आन्तरिक पर्यटन भित्र्याउन सकिने अपेक्षा स्थानीयको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७ शुक्रबार ००:००  ११ : ४५ बजे