काठमाडौं ।
सरकारले लकडाउनलाई खुकुलो पारे पनि चार जिल्लामा भने ‘पूर्ण लकडाउन’ यथावत् रहने भएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय बढी ‘एक्टिभ’ संक्रमण भएको जिल्लामा ‘पूर्ण लकडाउन’ गर्ने भनिएको छ ।
सोही अनुसार सर्लाही, रौतहट र कपिलवस्तु र दैलेखमा लकडाउन जारी हुने भएको हो ।
यी चार वटै जिल्लामा ‘एक्टिभ’ संक्रमण संख्या २ सय बढी छ । सर्लाहीमा ४७१, रौतहटमा ५१६, कपिलवस्तुमा ३५३, र दैलेखमा ४४३ जना संक्रमित छन् । यद्यपि कपिलवस्तुमा ६ सय बढी संक्रमित भेटिएपनि अढाई सय बढीले कोरोना जितेका छन् ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सरकारको निर्देशन आउनसाथ लकडाउन लागू गर्ने जनाए ।
‘हामीलाई यसबारे लिखित जानकारी आएको छैन। त्यस्तो आउनसाथ तुरून्त लकडाउन जारी गर्छौं,’ उनले भने।
रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले पनि मन्त्रालयको मापदण्डबारे शनिबार (आज) छलफल गरेर अगाडि बढ्ने बताए ।
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले पनि लकडान अहिले पनि जारी रहेको भन्दै अब नयाँ मापदण्ड अनुसार पनि कायम रहने बताए ।
उनका अनुसार अहिले जिल्लामा बिहान ५ बजेदेखि ८ बजे खाद्य तथा तरकारी पसल खोल्न दिइएको छ ।
त्यस्तै, पट्रोलियन ढुवानी र फोहोरमैलाको कामलाई पनि रोकिएको छैन । यसका साथै, बैंक तथा वित्तीय संस्थाललाई दिन बिराएर खोल्न दिइएको छ ।
यसबाहेक सबै पसल बन्द गरिएको र त्यो कायम रहने क्षेत्रीले बताए ।
दैलेखमा कर्णाली प्रदेशभरमै सबभन्दा बढी संक्रमित छन् । जसमा एक जना मृत्यु समेत भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय बढी ‘एक्टिभ’ संक्रमित रहेका जिल्लामा अर्को मापदण्ड जारी नभइन्जेल लकडाउन पहिलेकै अवस्थामा लागू हुने बताए ।
शुक्रबार ४४८ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ । जसमा तीन जिल्लामा मात्र २ सय ‘एक्टिभ’ संक्रमण छ ।
झण्डै तीन महिनापछि लकडाउनलाई पहिलो चरणमा खुकुलो गरिएसँगै मन्त्रालयले संक्रमण जोखिमलाई लक्षित गर्दै नयाँ मापदण्ड जारी गरेको हो ।







प्रतिक्रिया