विष्णु कुमार आले, अर्घाखाँची ।
कोरोना भाइरस नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै गुल्मी र अर्घाखाँचीमा पनि युवाले प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन अगाडी उनीहरुले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्लाकार्डसहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
उनीहरुले आरडिटी खारेज गर्दै पिसिआर अनिवार्य गर्नुपर्ने, कोरोना नियन्त्रणका लागि खर्च भएको रकम पारदर्शिता हुनुपर्ने लगायतका मागहरु राख्दै जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरे । आफूहरु कुनै राजनीतिक दलसँग आबद्ध नभई सरकारले गरेको लापरबाहीविरुद्ध उत्रिएको बताइएको छ । उनीहरुले सामाजिक संजालबाट भेला हुनका लागि आग्रह गरिएकाले सबै स्वत्त स्फूर्त रुपमा उपस्थिति भएको जनाएका छन् ।
पछिल्लो समयमा सरकारले भारतद्वारा अतिक्रमण गरेको भूमिलाई नेपालको नक्सा र निशान छापमा समावेश गरेकोमा भने उनीहरूले सरकारलाई धन्यवादसमेत प्रकट गरेका छन्। पिसिआर मेसिनको माग गर्दै सन्धिखर्कमा प्रदर्शन यस्तै, कोरोना भाइरस नियन्त्रणका लागि अर्घाखाँचीमा पिसिआर मेसिनको माग गर्दै युवाहरूले प्रदर्शन गरेका छन् ।
सरकारले लिएको नीति सुधारको माग गर्दै सन्धिखर्कको शान्ति बगैचामा एक घण्टा प्रदर्शन गरे। उनीहरुले आरडिटी परिक्षण खारेज गर, पिसिआर परिक्षण सय प्रतिशत लागु गर ,ज्यानमारा असुरक्षित क्वारेन्टाइन बन्द गर, मापदण्ड अनुसारका क्वारेन्टाइन निर्माण गर, अनियमितता गर्ने माथी कार्वाही गर, सबै स्थानियतहमा आईसोलेसन निर्माण गर लगायतका माग गर्दै नाराबाजी गरेका थिए ।
सरकारले अहिलेको समस्यालाई ब्यवस्थापन गर्न नसकेकाले राजधानीबाट सुरु भएको आन्दोलनको हिस्सा अन्तरगत अर्घाखाँचीमा पनि प्रदर्शन गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गरेर छोटो समयमै युवाहरू भेला भएका थिए।







प्रतिक्रिया