बिष्णु कुमार आले, अर्घाखाँची ।
क्वारेन्टाइनमा बसेको लामो समय बितीसक्दा पनि पीसीआर रिपोर्ट नआएको भन्दै अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका ३५ जना भागेर घर गएका लाई पुनः फर्काइएको छ ।
जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. २ मा रहेको जनप्रिय आधारभुत बिद्यालयको क्वारेन्टाइन बसेका ३५ जना पीसीआर रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनबाट निस्किएका थिए । क्वारेन्टाइनबाट घर जान निस्किएका उनीहरूलाई बीच बाटोबाट प्रहरीले फर्काएर बिभिन्न क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरूलाई भूमिकास्थान नगरपालिका वडा नं. १ को बाल शिक्षा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ७ जना, देउराली आधारभूत विद्यालयमा १३ जना र भूमिकास्थान नगरपालिका वडा नं. २ को जनप्रिय आधारभूत विद्यालयमा १५ जना फर्काएर क्वारेन्टाइनमा राखिएको वडा नम्बर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापाले बताए ।
पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला पठाएको लामो समय हुँदा पनि रिपोर्ट नआएको भन्दै उनीहरु एकाएक क्वारेन्टाइनबाट भागेका थिए ।
उनीहरु जेठ ११ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको पीसीआरको परिक्षणका लागि स्वाबको नमुना जेठ २३ गते प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको नगर स्वास्थ्य प्रमुख हरि प्रसाद पन्थीले बताए । घटनापछि प्रहरीले यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उता जेठ २८, बुधवारदेखि जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोटको डिहिडाँडा स्थित चन्द्र प्रभा माबि क्वारेन्टाइनमा बस्नेहरु २० दिन बढी हुँदासम्म पीसीआर रिपोर्ट नआएको भन्दै अन्दोलित भएका छन् ।
यस्तै पछिल्लो समय प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङमा स्वाब परीक्षणको चाप अत्यन्तै बढेको भन्दै अर्घाखाँचीको पीसीआर स्वाबको नमुना लिन नमानेपछि भरतपुर र काठमान्डौ पठाईएको छ ।
प्रयोगशालामा स्वाब नमुनाको चाँप बढेपछि रिपोर्ट आउन ढिला हुदै आएको छ । सक्रमितको संख्या बढेसगै जिल्ला जिल्लामा पीसीआर मेसिन सरकारले संचालनमा ल्याउनु पर्ने उनीहरूको माग छ ।







प्रतिक्रिया