२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

गुल्मीमा बर्षाको कहरः पहिरोले जीप पुर्दा एक जनाको ज्यान गयो



बुटवल ।
अत्याधिक बर्षाका कारण माथिबाट खसेको पहिरोले जीप पुरिदा गुल्मीमा एकजनाको ज्यान गएको छ भने पाचँजना घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडे निवासी अन्दाजी १८ बर्षीया तुल्सीराम काउछाको ज्यान गएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका इन्स्पेक्टर पंकज चुँदालीले जानकारी दिए ।

साविकको हाडहाडे गाविस वडा नम्बर २ बाट हाडहाडेकै अर्को गाउँ जान लाग्दा लु १ ज ३९७९ नम्बरको जीप हाडहाडेस्थित चुना ओडारमा पुरिएको हो । जीप सवार अन्य पाचँ जनामध्ये दुईजनाको अवस्था गम्भीर भएको कारणले थप उपचारको लागि अर्घाखाँची सन्धिखर्क पठाइएको छ । गाडी चालक समेत रहेका स्थानीय २० बर्षीय प्रदिप पुन र २५ बर्षीय रमेश रानालाई थप उपचारको लागि सन्धिखर्क पठाइएको हो ।

बाँकी तीनजनाको भने अवस्था सामान्य रहेकोले हाडहाडे मै प्राथमिक उपचार गरिएको छ । स्थानीय ३९ बर्षीय केशव काउछा, २१ बर्षीय खिम काउछा र १८ बर्षीय विशाल काउछाको अवस्था सामान्य रहेकोले हाडहाडेमै प्राथमिक उपचार गराइएको छ ।

जीप दिउँसो करिब १२ः ३० तिर पुरिएपनि सामान्य अवस्थाका एकजना घाइते पैदलै गाउँसम्म पुगेर खबर गर्दा उद्धारमा ढिलाई भएको हो । लगातार दुई दिनदेखि भइरहेको बर्षाले जमीन कमजोर भएको र पहिरो खसेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

अहिले घटनास्थलमा प्रहरीको टोलिले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका इन्स्पेक्टर चुँदालीले जानकारी दिए ।

तस्बीरः समयचक्रबाट

प्रकाशित मिति : ६ असार २०७७ शनिबार ००:००  ७ : ०८ बजे