९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

कोरोना अपडेटः मृतकको संख्या ४० पुग्यो, पुष्टि भएको ४ घण्टामै एक वृद्धको मृत्यु



विराटनगर ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक ७३ वर्षीय वृद्धको मृत्यु भएको छ ।

गत असार ३१ गते सप्तरीको राजविराजबाट प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका बृद्धको बिहीबार राति करिब सवा १० बजे मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

प्रतिष्ठानका अनुसार मृतकको बिहीबार बेलुका करिब ६ बजे कोरोनाभाइरस कोभिड १९ परीक्षणमा पोजेटिभ देखिएको र राती मृत्यु भएको हो।

प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाका अनुसार मृतकलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोग रहेको थियो।

अस्पतालमा सुरुमा ल्याउँदा प्रतिष्ठानको विशेष आइसोलेटेड इमेरजेन्सी कक्षमा राखेर उपचार गरिएको र कोरोना पुष्टि भएपछि कोरोनाको आइसोलेसन कक्षमा सारिएको प्रवक्ता सापकोटाले जानकारी दिए।

प्रवक्ता सापकोटाले दीर्घकालीन शारीरिक रोगका बिरामी भएकाले पनि विशेष निगरानीसहित उपचारमा राखेको बताए।

हाल उनको शव अस्पतालको शव राख्ने मर्चुरीमा राखिएको छ। यससँगै सरकारको निर्दिष्ट गरेको प्रक्रिया अन्तर्गत सुरक्षा निकायले शवको व्यवस्थापन गर्ने भएकाले त्यसको तयारी भइरहेको अस्पतालले जनाएको छ।

मृतकको परिवारले नै अस्पतालमा उपचारका लागि ल्याएको हुनाले कन्ट्याक्ट ट्रेसिङका लागि उनीहरुको पीसीआर गर्न सकिने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७ शुक्रबार ००:००  १० : ०५ बजे