१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

पीसीआर परीक्षण गराउन अन्तरिम आदेश जारी



नेपालगन्ज ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले कारागार तथा बाल सुधार गृहमा रहेका कैदीबन्दी तथा बालबालिकासित सम्पर्कमा आउने सुरक्षाकर्मी र कर्मचारीहरुलाई कोरोना संक्रमण एकिन गर्न पीसीआर परीक्षण गराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश हेमराज पन्तको एकल इजलासले जिल्ला प्रशासन कार्यालय बाँके, कारागार कार्यालय बाँके, बाल सुधारगृह डुडुवा, स्वास्थ्य कार्यालय बाँके र कार्यालयका प्रमुखका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

बालसुधार गृह तथा कारागारमा रहेका थुनुवा कैदीको क्षमताभन्दा बढी संख्याको अवस्था, कारागार कार्यालय बाँकेमा रहेका एकजना थुनुवा र सुरक्षाकर्मी समेतलाई कोरोना संक्रमण भइसकेको अवस्थामा हुन सक्ने मानवीय क्षति समेतलाई मध्यनजर राखि सम्पूर्ण थुनुवा तथा कैदीबन्दीको तत्काल पीसीआर परीक्षण तथा अन्य स्वास्थ्य सम्बन्धी परीक्षण गराउन, कोरोना भाइरसको थप संक्रमण हुन बाट रोक्नको लागि सर्तकता व्यवस्था अवलम्वन गराउन, पक्राउ परेका व्यक्तिलाई अदालतमा उपस्थित गराउँदा र बालसुधार गृह एवं कारागार कार्यालय बाकेमा लैजानुपूर्व अनिवार्य रुपमा पीसीआर परीक्षण गर्नु गराउनु भनी कानून व्यवसायीहरुले रिट निवेदनमा अन्तरिम आदेशको माग दाबी गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७ मंगलबार ००:००  ५ : ३२ बजे