९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

वीरगन्जमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि



वीरगन्ज ।
वीरगन्जमा बिहीबार बिहान मृत्यु भएका बाराका दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डक कोभिड अस्पतालका संयोजक डा।उदय सिंहले उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनुभयो ।

कोरोनाको लक्षणसहित कोभिड अस्पताल पुगेका उनीहरुलाई आइसियू कक्षको अभावमा नारायणी अस्पतालको आकस्मिक कक्ष र भेन्टिलटरमा उपचार गराइएको थियो।

मृत्युअघि नै स्वाब लिइएको भएपनि मृत्यृ पश्चातमात्रै कोरोना पुष्टि भएको डा।सिंहले बताए। वीरगन्जमा पछिल्लो पटकको परीक्षणका क्रममा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पर्सा जिल्लाका २६, बाराका २० जना, महोत्तरीका २ जना र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो।

नारायणी अस्पतालको एनआइसियू विभागका एक चिकित्सक, पोषण, फार्मेसी र फिजियोथेरापी विभागका एक–एक जना कर्मचारीमा कोरोना देखिएको छ।

अस्पतालका ३ जना स्वीपर, ३ जना सुरक्षा गार्ड र एक जना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : ३० श्रावण २०७७ शुक्रबार ००:००  २ : २७ बजे