१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

रुपन्देहीमा लकडाउन खुकुलो, सात घण्टा पसल खोल्न पाउने



बुटवल ।

रुपन्देहीमा आइतबारदेखि लकडाउन खुकुलो हुने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार व्यापार व्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाउने छन्।

तर, दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५ बजे देखि बेलुका ७ बजेसम्म चल्न पाउनेछन्। बैंक तथा वित्तिय संस्थाहरु पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा दिनसक्ने गरी निर्णय भएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए।

तर, उद्योग व्यवसाय अन्तर्गतका नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड तथा स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड विपरीतका काम गर्न रोक लगाएको छ।

यस्तै सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटी पार्लर, समूहमा खेलिने खेलकुद, पूस्तकालय, संग्रहालय, स्पा, स्विमिङ पुल, मनोरञ्जनस्थलहरु भने बन्द रहने छन्।

होटल तथा रेष्टुराँ र शैक्षिक क्षेत्र पनि बन्द रहनेछन्। प्रशासनले उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्डविपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न पनि नपाउने भनेको छ।

यस्तै विभिन्न नाका प्रयोग गरेर गैरकानुनी रुपमा नेपाल भारत आउनजान पनि रोकेको छ। तर बेलहिया नाकाबाट हुने आवतजावतलाई भने नेपाल सरकारले तोकेबमोजिम हुने भनेको छ। जिल्लाभित्र सरकारले अनुमति दिएका बाहेक कुनैपनि गाडी चलाउन पाइने छैन।

तर मुख्य राजमार्गमा चल्ने अत्यावश्यक गाडी भने चल्न पाउनेछन्। यस्तै अत्यावश्यकीय वस्तु र सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, सूचना सञ्चार, कार्यालय आउने जानेका गाडीलगायतका क्षेत्रका गाडी भने चल्न पाउनेछन्।

यो निर्णय यही भदौ २० गते रातीदेखि २८ गते राती १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी पन्थले बताए।

प्रकाशित मिति : २० भदौ २०७७ शनिबार ००:००  १ : ५० बजे