९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

चीनमा १२ वटा केस भेटिएपछि पाँच दिनमै ९० लाख मानिस लाई जाँचिने



एजेन्सी ।

चीनले पाँच दिनमा सिंगो सहरका बासिन्दाको कोरोना परीक्षण गर्ने भएको छ। क्विङदाओ सहरमा एकै पटकमा ९० लाख जनसंख्याको परीक्षण गर्न लागिएको हो। सहरमा कोरोनाका केही नयाँ संक्रमित भेटिएपछि व्यापक परीक्षणको योजना बनाइएको हो। विदेशबाट आइ स्थानीय अस्पतालमा उपचाररत केही व्यक्तिमा संक्रमण देखिएको थियो। सहरमा नयाँ ६ वटा र लक्षणरहित ६ वटा केस फेला परेका छन्।

ती सबै एकै अस्पतालसँग सम्बन्धित छन्। संक्रमण फैलन नदिन मास–टेस्टिङमा जाने निर्णय गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्। क्विङदाओका स्वास्थ्य आयुक्तलाई उधृत गर्दै ग्लोबल टाइम्सले जनाएअनुसार पाँचवटा क्लस्टर छुट्याएर सहरका सबै बासिन्दाको परीक्षण गर्ने तयारी भइरहेको छ।

अस्पतालका कर्मचारी र बिरामी गरी १ लाख १८ हजार ८६२ जनाको अगावै परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको समाचारमा जनाइएको छ। पाँच महिनाअघि वुहानमा पनि यसरी नै १ करोड १० लाख मानिसको एकसाथ परीक्षण गरिएको थियो।

उक्त परीक्षण सम्पन्न गर्न दस दिनको समय लागेको थियो। चीनमा हाल ८५ हजार ५७८ सक्रिय संक्रमित छन् भने अहिलेसम्म ४ हजार ६३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ। कोरोना नियन्त्रणमा तुलनात्मक सफलता प्राप्त गर्ने देशमध्ये चीन पनि पर्छ।

प्रकाशित मिति : २६ आश्विन २०७७ सोमबार ००:००  २ : ३८ बजे