१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

राप्रपाबाट प्रवेश गरेका सुनिल थापा बने कांग्रेसका सहमहामन्त्री



काठमाडौं ।

सुनिल थापा नेपाली कांग्रेसको सहमहामन्त्री भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) बाट प्रवेश गरेका थापालाई शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सहमहामन्त्रीमा मनोनित गरेको हो ।

थापासँगै प्रवेश गरेका अन्य ७ जना केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए ।

केन्द्रीय सदस्यको जिम्मेवारी पाउने नेताहरुमा रामप्रसाद भट्टराई (मोरङ) विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टिएन योगी (ललितपुर), दिलीप राई (झापा) रहेका छन् भने कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्य रहेका छन् ।

राप्रपाको एकता भएपछि असन्तुष्ट बनेका सुनिल थापा केही महिनाअघि आफ्नो समूहका नेतासहित कांग्रेस प्रवेश गरेका थिए । सहमहामन्त्री बनेका थापा राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७७ शुक्रबार ००:००  ६ : ३४ बजे