८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

विप्लव समूहद्धारा शिक्षकको अपहरणपछि गोली हानी हत्या



काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव समूहले मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ। प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो। उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको प्रहरी उपरीक्षक खड्काले बताए।

‘बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएका थिए,’ खड्काले भने, ‘घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या भएको छ।’ प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको खड्काले बताए। श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको खड्काले बताए।

शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको खड्काले बताए। ‘हाम्रो प्रहरी टोली अहिले घटनास्थलतर्फ गइरहेको छ, घटनास्थल पुगेपछि विस्तृत जानकारी आउँछ,’ खड्काले भने। मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बिहानै शिक्षकलाई ‘अज्ञात समूह’ले अपहरण गरेको बताए। ‘अपहरण भएको केही समयमै हत्या भयो भन्ने खबर आएको छ,’ उनले भने, ‘हामी जाँदैछौं, यहाँबाट घटनास्थल पुग्न दुई घन्टा लाग्छ।’

प्रकाशित मिति : २३ मंसिर २०७७ मंगलबार ००:००  १२ : २६ बजे