२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

वन्यजन्तुको सिकुटी र हातहतियारसहित दुईजना पक्राउ



बर्दिया ।

बर्दिया राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले वन्यजन्तुको सुकुटी र हातहतियारसहित दुईजनालाई पक्राउ गरेको छ। सुरक्षाकर्मीको टोलीले आइतबार सुर्खेतको बराहाताल गाउँपालिका–३ नरसिहंकाडाका ३४ वर्षीय चक्रबहादुर विष्ट र २४ वर्षीय गणेश तिवारीलाई नियन्त्रणमा लिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिए। उनीहरुको साथबाट भरुवा बन्दुक तीन नाल, गोली १७ थान, वारुद करिब २०० ग्राम, हसिया पाँच थान, गुलेली एक, जाल एक, वन्यजन्तुको सुकुटी करिब ७० किलोलगायतका सामग्री बरामद गरिएको छ।

शनिबार राति राष्ट्रिय निकुञ्जको खयरभट्टी पोष्टबाट करिब ६ किलोमिटर उत्तरपश्चिम निकुञ्जको कोर ईलाकामा पर्ने गिठ्ठे खोला नजिक निकुञ्ज कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोली र ५÷६ जनाको समूहमा रहेका सिकारीबीच गोली हानाहान भएको निकुञ्ज प्रसासनले जनाएको छ। सहायक संरक्षण अधिकृत थापाका अनुसार सुरक्षाकर्मीलाई देख्न साथ तस्करहरुले गोली प्रहार गरेपछि सेनाले जवाफी फायर गरेका थिए। दुवैतर्फ फायर भए पनि कुनै मानवीय क्षति नभएको उनको भनाइ छ।

प्रकाशित मिति : ६ पुस २०७७ सोमबार ००:००  २ : ०८ बजे