२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

ओलीमाथि अर्को झड्का, प्रदेशमन्त्री बुढाले छाडे साथ



सुर्खेत ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै नेताहरू पक्षविपक्षमा लागेका बेला कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा प्रचण्ड–नेपाल पक्षमा खुलेका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मानिएका बुढा नेकपा नेता जनार्दन शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलपछि प्रचण्ड–नेपाल पक्षमा लागेका हुन् ।

मन्त्री बुढाले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई सफल र एकीकृत बनाउन म एक जिम्मेवार कार्यकर्ताको रूपमा महत्त्वपूर्ण भूमिका रहने तथा डोल्पा जिल्लाबाट जनताको अपार मायाले निर्वाचित कर्णाली प्रदेश सभाको एक जिम्मेवार सदस्यको रूपमा कर्णाली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्नु पनि त्यतिकै महत्त्वपूर्ण भूमिका रहेको वर्तमान परिवेशमा मैले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष क. माधवकुमार नेपालको नेतृत्वमा रहेको हाम्रो गौरवशाली पार्टी नेकपामा नै आवद्ध रहेको सहर्ष जानकारी गराउन चाहन्छु ।’

मन्त्री बुढा प्रचण्ड–नेपाल पक्षमा लागेपछि अब नेकपा विभाजनपछि पनि कर्णाली प्रदेश सरकार सुरक्षित रहेको विश्लेषण नेकपाभित्र हुन थालेको छ । बुढाको साथ पाएपछि मुख्यमन्त्री शाही खुशी भएका नेताहरूले जनाएका छन् ।

प्रकाशित मिति : २१ पुस २०७७ मंगलबार ००:००  ५ : ०७ बजे