७ असार २०८३, आइतबार | Sun Jun 21 2026

खाना नपकाएको निहुँमा छोराको कुटपिटबाट आमाको मृत्यु



अर्घाखाँची

आफ्नै छोराको कुटपिटबाट अर्घाखाँचीमा एक महिलाको मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क १ तुमकोट निवासी ५५ वर्षीय हिरा कुमारी सार्कीको आफ्नै कान्छो छोराको कुटपिटबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताए।

गुप्ताका अनुसार बुधबार साँझ सँगै बसेको कान्छो छोरो मासु लिएर आउँछु, मासु पकाएर मात्रै खाना खाउँला भनेर मासु लिन बजार गएको छोरो माधक पदार्थ सेवन गरी घर फर्किएका थिए। घर फर्किंदा घरमा रहेका बुवाआमालाई किन खाना नपकाएको भन्दै धम्काएर खाना नपकाएको निहुँमा २३ वर्षीय जवान छोरो बिमल नेपालीले घरेलु हतियारले कुटपिट गर्दा आमाको ज्यान गएको हो।

६१ वर्षीय पितालाई पनि अभियुक्त कान्छो छोराले प्लाष्टिकको पाईपले ३ र४ पटक हानेपछि उनी ज्यान बचाउन बाहिर भागेका थिए। मृतक हिरा कुमारी सार्की र उनका श्रीमान कमलबहादुर सार्कीका २ वटा छोरीको विवाह भएर पराई घर गइसकेका छन् भने जेठा छोरा बुहारी कामको सिलसिलामा विराटनगर बस्दै आएको र अभियुक्त कान्छो छोरो बिमल बाबू आमा सँगै बस्दै आएको थियो।

बुधबार राति घटना भएको जानकारी पाउनेबित्तिकै जिल्ला प्रहरी प्रमुख माधव बुढाथोकीको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो। अभियुक्त २३ वर्षीय विमल नेपालीलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ माघ २०७७ बिहिबार ००:००  ११ : ४४ बजे