१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

संसद् बैठक बसेर केपी ओलीलाई कारबाही गर्ने तागत हामीसँग छः प्रचण्ड



काठमाडौं

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले मात्रै आफूहरु चुप लागेर बसेको बताएका छन् । सर्वोच्च अदालतमा मुद्दा हुँदैनथ्यो भने आफूहरुसँग संसद् बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने तागत रहेको प्रचण्डले बताए ।
शनिबार कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद् बैठक बसेर केपी ओलीलाई कारबाही गर्ने तागत आफूहरुसँग रहेको बताएका हुन् । आफूपक्षीयसहित काँग्रेस र जसपाका गरीदुई तिहाइ सांसद ओलीको प्रतिगमनको विपक्षमा रहेको भन्दै प्रचण्डले ओलीको सनकको भरमा प्रतिनिधिसभा विघटन हुन नसक्ने बताए ।

ओलीको कदमविरुद्ध सभामुखले बैठक बोलाउने र ओलीले राष्ट्रघात गरेको ठहर गर्दै प्रधानमन्त्रीबाट हटाउँदै उनलाई कारबाही गर्ने अधिकार संसदले राख्ने उनको भनाइ थियो ।
प्रचण्डले सर्वोच्च अदालतले मुद्दाको सही फैसला गर्नेमा आफू विश्वस्त रहेको पनि बताए ।

ओलीले संविधानमाथि कुल्चिनु भनेको जनताको सार्वभौम अधिकारमाथि कुल्चिनु पनि हो भन्दै प्रचण्डले उनी तानाशाहको उदाहरण भएको टिप्पणी गरे । तर उनलाई प्रतिगमनको यात्रालाई परास्त गरेरै छाड्ने प्रच्ण्डले उद्घोष गरे ।
ओलीले सेटिङमा चालेको कदमलाई जनताको सेटिङले भत्कउँदै त्यसपछि विकास र समृद्धिका नयाँ युगतिर लागिने प्रचण्डले बताए ।

प्रकाशित मिति : १७ माघ २०७७ शनिबार ००:००  ३ : ४१ बजे