८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बाँकी दुई वर्षको कार्यकाल पनि ओली नेतृत्वमैः विष्णु पौडेल



लुम्बिनी ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको दाबी गरेका छन् । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी बिहीबार यहाँ आएका पौडेलले पत्रकारसँग कुरा गर्दै अब पनि यही सरकार निरन्तर रहने दाबी गरे ।
प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने र बाँकी दुई वर्षको कार्यकाल केपी शर्मा ओली नेतृत्वमै चल्ने उनले बताए ।
आफ्नै दलको झण्डै दुई तिहाइको सरकार ढालेर कम्युनिस्ट इतरको सरकार बनाउन दाहाल–नेपाल समूह लागिरहेको आरोप लगाउँदै पौडेलले त्यो प्रयास निरर्थक हुने जिकिर गरे ।
‘उहाँहरूले अरु पार्टीका नेताहरूलाई प्रधानमन्त्री बनाउन अफर गरिरहनु भएको छ। यो सरकार गिराएर कम्युनिस्ट इतरको सरकार बनाउने उहाँहको प्रयास निरर्थक हुनेछ।’ अँध्यारो कोठामामा बुन्ने तानाबानाले कुनै अर्थ नलाग्ने उनको भनाइ थियो ।
अहिले पनि नेकपा राष्ट्रिय राजनीतिको नेतृत्व शक्ति रहेको र बाँकी कार्यकाल पनि ओली नेतृत्वको सरकारले काम गर्ने उनले बताए। ‘जनताले केपी शर्मा ओली नेतृत्वको पार्टीलाई नै नेकपाको बागडोर सम्हाल्न दिएका हुन् र अब पनि दिने छन्’ उनले भने।

प्रकाशित मिति : २० फाल्गुन २०७७ बिहिबार ००:००  ५ : १३ बजे