२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

सगरमाथा सिमेन्ट उद्योगविरुद्ध मुद्दा



दाङ ।
घोराही उपमहानगरपालिका वडा नम्बर ३ र ४ गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगविरुद्ध स्थानीयवासीले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन्। उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनि प्रदूषणले नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेकाले प्रदूषणजन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी परमादेशको आदेश माग्दै २१ जनाले संयुक्तरूपमा मुद्दा दायर गरेका हुन्।

रिटमा मानव बस्तीबीचमा स्थापना गरिएको उद्योगका कारण पानीको सतह सुक्दै जाँदा उत्पादन घटेको, खेतबारी र घरमा सिमेन्टको धुलो जम्मा हुने गरेको, ध्वनि प्रदूषणले रातमा पनि सुत्न नसकिएको भन्दै सम्मानपूर्वक बाँच्न पाउनुपर्ने माग दाबी गरेका छन्। सगरमाथा सिमेन्ट उद्योगले दैनिक दुई हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ।

उच्च अदालत तुलसीपुरले घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालिका नाममा कारण देखाउ आदेश जारी गरेको छ। अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षितको एकल इजलासले सिमेन्ट उद्योग, सञ्चालक समितिका अध्यक्ष, जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, उपमहानगरपालिका र नगरप्रमुखका नाममा १५ दिनको कारण देखाउ आदेश जारी गरेको हो।

त्यसैगरी निवेदकले अन्तरिम आदेशसमेत माग गरेकाले विपक्षीलाई यही चैत ९ गते अदालतमा उपस्थित हुन आदेश दिएको उच्च अदालतले जनाएको छ।

प्रकाशित मिति : ८ चैत्र २०७७ आइतबार ००:००  ६ : १८ बजे