८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

म ओलीतिर गएको छैन्, माधव नेपालसँग सम्पर्कमै छुः गोकर्ण विष्ट



काठमाडौं ।
नेकपा (एमाले) का नेता तथा सांसद गोकर्ण विष्टले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनाउनुपर्ने रिटमा हस्ताक्षर गरेका छैनन् । माधव नेपाल पक्षबाट २५ जनाले हस्ताक्षर गरेको बुझिएको छ । विष्टले नेता नेपालको साथ छोडेको चर्चा चलिरहेको छ । तर, उनले आफू विरामी भएर घरमै आराम गरिरहेको बताएका छन् ।

उनले आफू ज्वरो आएर घरमै बसेको जानकारी दिए । त्यस्तै, उनले आफू प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको क्याम्पमा पनि नगएको जिकिर गरे । बरु, नेता नेपालसँग भने नियमित सम्पर्कमा रहेको उनको भनाई छ । पछिल्लो समय नेता विष्टले एमालेको एकता जोगाउनको लागि सक्रिय भूमिका निर्वाह गरेका थिए ।

त्यसको लागि उनले नेता नेपाललाई पनि अध्यक्ष ओलीसँग वार्ता गर्न आग्रह गरेका थिए । यो बीचमा एमालेको एकता कायम गर्न कार्यदल समेत गठन भएको थियो । तर, प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेपछि भने एमालेको फुट अब टार्न नसकिने अवस्थामा पुगेको छ। आजमात्रै, ओलीले पार्टीको स्थायी कमिटी बैठक राखेर माधव नेपालसहितका ११ सांसदलाई कारबाही गर्ने तयारी थालेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७८ सोमबार ००:००  २ : १४ बजे