बाँके ।
स्वास्थ्यकर्मी कुट्नेलाई जिल्ला अदालत बाँकेले धरौटीमा रिहा गरेपछि नर्सिङ संघ बाँकेले पुनरावेदन गर्ने तयारी गरेको छ । भेरी अस्पताल नेपालगन्जका चिकित्सक र स्टाफ नर्समाथि केही दिनअघि सामूहिक आक्रमण गरेको थियो। उनीहरूविरुद्ध ज्यान मार्ने कसुरमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता भएको थियो। तर हिजो अदालतले अभियुक्तहरूलाई जनही ५० हजार धरौटीमा छाडेको थियो ।
जिल्ला अदालतको आदेशले पीडितलाई न्याय दिन नसकेको भन्दै नर्सहरूको छाता संगठन नर्सिङ संघ बाँकेले गुनासो गरेको छ। नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीले आज कानुनी सल्लाहाकारसँग परामर्श गरेर उच्च अदालतमा पुनरावेदन गर्ने बताएकी छन् ।
ज्यान मार्ने उद्देश्यका साथ अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्ने दोषीलाई जिल्ला अदालतले धरौटीमा रिहा गर्न दिनुले अदालतप्रतिको विश्वासमा शंका पैदा गरेको अध्यक्ष केसीको भनाइ छ ।
केसीले सत्ता र शक्तिबाट अदालत प्रभावित भएको आंशकासमेत व्यक्त गरिन्। गत जेठ १३ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरी दाङका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि आक्रोशित बनेका मृतकका भाई मानबहादुर रावत, भरत रावत र छोरा लोकराज रावतलले उपचारमा लापरबाही भएको भन्दै ड्यटीमा खटिएका चिकित्सक र नर्सहरूमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए ।
त्यही दिन पक्राउ परेका उनीहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको थियो । त्यही मुद्दामा जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले उनीहरू तीनैजनालाई जनही धरौटीमा छाडेको हो ।







प्रतिक्रिया