६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार कुँवरको निधन



पोखरा ।

स्थानीय तह निर्वाचन २०७४ सालमा पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार रामजी कुँवरको निधन भएको छ। कोभिड १९ को संक्रमणबाट बिरामी भएका उनलाई उपचारका लागि केही समयअघि पोखराबाट हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा उपचारकै क्रममा सोमबार निधन भएको कास्की कांग्रेस प्रवक्ता नवीन सिग्देलले पुष्टि गरेका छन्। नेपाल ट्रेड युनियन कंग्रेसका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कुँवर ६५ वर्षका थिए। उक्त संस्थामा २ पटक केन्द्रीय वरिष्ठ उपाध्यक्ष रहेका उनी ५० सालदेखि पूर्णकालीन रुपमै ट्रेड युनियन आन्दोलनमा सक्रिय थिए। २०३६ सालमा स्थास्थ्यकर्मीहरुको आन्दोलनमा लागेर राजनीतिमा प्रवेश गरेका कुँवर नेपाली कांग्रेसको पूर्व आमन्त्रित केन्द्रीय सदस्य पनि हुन्।

२०१३ सालमा जन्मिएका पोखरा ६ लेकसाइडका स्थानीय कुँवरको निधनप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले श्रद्धाञ्जली अर्पण गरेका छन्। ‘कुँवरको असामयिक निधनले अत्यन्तै मर्माहत बनाएको छ,’ उनले भनेका छन्, ‘स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदका प्रतिस्पर्धी ६५ वर्षे कुँवर नेपाली लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो।’

महानगरपालिकामा मेयरको प्रतिस्पर्धामा कुँवर एमालेका मानबहादुर जिसीसँग पराजित भएका थिए। जिसीले समेत शोक वक्तव्य जारी गर्दै उनी स्वस्थ लोकतान्त्रिक अभ्यासकर्ता रहेको बताएका छन्।

प्रकाशित मिति : २२ असार २०७८ मंगलबार ००:००  ९ : २५ बजे