२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

जसपा यादव पक्ष सरकारमा जाने, पाँच सांसदले छाडे महन्थको साथ



काठमाडौं ।

जनता समाजवादी पार्टी जसपा सरकारमा जाने भएको छ। आज बसेको अध्यक्ष उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको हो।

बैठकपछि सांसद् प्रदीप यादवले भने, हामीले आज बैठकमा जाने निर्णय गरेका छौँ। भोलिकै संसद् बैठकमा सत्तापक्षको कुर्सीमा बस्छौँ। बैठकले सांसदहरुलाई काठमाडौंँ नछाड्न निर्देशनसमेत दिएको यादवले बताए। यस्तै, अध्यक्ष महन्थ ठाकुर पक्षलाई छाडेर ५ सांसद् यादव पक्षको बैठकमा आएको सांसद् यादवले बताए।

अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाथ यादव पक्षमा आएका हुन्। यसअघि पार्टी नै विभाजन गरेर अध्यक्ष ठाकुर समूह एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएको थियो। ३२ सांसदमध्ये अध्यक्ष ठाकुर पक्षमा २० जना थिए भने अर्का अध्यक्ष यादव पक्षमा १२ मात्रै सांसद् थिए।

अध्यक्ष ठाकुर पक्षले ५ सांसदलाई साथ छाडेपछि यादव पक्षमा १७ सांसद् पुगेका छन्। यो सँगै कार्यकारिणी समिती र संसदीय दल दुवैमा अध्यक्ष यादव पक्षको बहुमत भएको छ। जसपाको आधिकारिकता टुंगोमा पुर्याउनका लागि भोलि नै निर्वाचन आयोगले दुवै समूहलाई बोलाएको छ।

प्रकाशित मिति : २ श्रावण २०७८ शनिबार ००:००  ७ : २३ बजे