७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

भीम रावलले फिर्ता लिए सांसदबाट दिएको राजीनामा



काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन्।

रावलले साउन ३ गते सांसदबाट राजीनामा दिएका थिए। उनको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरिसकेका थिएनन्।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका थिए।

२०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन्।।

म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनमा दर्ता गर्न आएको छुु, सिंहदरबारस्थित संसद सचिवालयबाट रावलले भनेका थिए, म राजीनामा दिन्छु।

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए।

रावलले राजीनामा दिएपछि अरू एमाले नेताहरूले उनको राजीनामा जरूरी नरहेको भन्दै फिर्ता लिनु पर्ने बताएका थिए। वरिष्ठ नेता नेपालले त उनलाई टोखास्थित निवासमै गएर राजीनामा फिर्ता लिन भनेका थिए।

प्रकाशित मिति : ८ श्रावण २०७८ शुक्रबार ००:००  १२ : ५७ बजे