४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

नेपालगञ्जमा ब्राउनसुगरको कारोबार गर्ने भारतीय पक्राउ



नेपालगञ्ज ।

पत्रकारको परिचय बोकेका भारतीय नागरिक नेपालगञ्जमा ठूलो मात्रामा ब्राउनसुगरसहित पक्राउ परेका छन्। नेपालगञ्जको वडा नं. १२ मा कोठा भाडा लिएर बसेका दुई जना भारतीयसहित तीन जनालाई लागु औषध नियन्त्रण ब्यूरो, वडा प्रहरी र जिल्ला प्रहरीको टोलीले ४३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी एवं प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार, भारत उत्तरप्रदेश जिल्ला बहराइच बस्ने २८ वर्षको मो। सलमान खान, भारत लखनउका २८ वर्षका मुस्तकिम सिद्धिकी र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ का २२ वर्षीय आजाद कवडियालाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको हो।

पक्राउ परेका मो। सलमान खानसँग दिल्ली क्राइम राष्ट्रिय पत्रिकाको परिचयपत्र रहेको छ। पत्रकारको भेषमा उनले नाकामा सहजै आवतजावत गरेको पाइएको प्रहरीले जनाएको छ। मुस्तकिम नेपालगञ्जमा सुनपसलमा काम गर्छन्। उनीहरु नेपालगञ्जमा कोठा भाडामा लिएर बसेका थिए।

बाहिरी आवरणमा पत्रकार र सुन पसलमा काम गर्ने देखिए पनि उनीहरुको असली धन्दा लागु औषधी ब्राउनसुगरको कारोबार गर्ने रहेको खुलेको छ। उनीहरुको कोठाबाट ब्राउनसुगर तौलिने डिजिटल तराजुसमेत बरामद भएको छ। सलमान र मुस्तविमले भारतमा प्रतिग्राम एक हजार पाँच सयमा खरिद गरेर नेपालगञ्जमा तीन देखि चार हजारसम्ममा बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ श्रावण २०७८ शनिबार ००:००  २ : २२ बजे