४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

गोठमा गएकी महिला मृत फेला



रुकुम पूर्व ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा घर नजिकैको गोठमा गएकी महिला मृत फेला परेकी छन्। त्रिवेणी–४ स्थित छरीखोलाकी करिब २५ वर्षीया कमला खत्री खड्काको शव घर नजिकै फेला परेको हो।

उनी सोमबार बेलुकी कुरलखोलामा रहेको गोठमा भैंसीलाई घाँस हाल्न गएकी थिइन्। घरभन्दा करिब २०० मिटर टाढा रहेको गोठका भैंसीलाई घाँस हाल्न नगएकी कमला लामो समय नफर्केपछि खोजी गरिएको थियो। खोज्ने क्रममा सोमबार राति नै उनको शव भेटिएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले जानकारी दिए। उनको शव भेटिएको ठाउँ नजिकै मकै र घाँस कुच्चिएको अवस्थामा भेटिएको र घर फर्कने बाटोभन्दा केही तल उनको शव फेला परेको खड्काले बताए। घटनास्थलको अवस्था हेर्दा झगडा परेको जस्तो देखिने वडाध्यक्ष खड्काले बताए।

घटनास्थल पुगेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले अनुसन्धान थालिएको बताए। शव रातभर प्रहरीको निगरानीमा रहेको र अनुसन्धानका लागि कोहलपुरबाट तालिम प्राप्त कुकुर मगाइएको डिएसपी श्रेष्ठले बताए। कुकुर पुगेपछि घटनाबारे थप अनुसन्धान अघि बढाइने उनको भनाइ छ। प्रारम्भिक चरणमा घटनास्थल वरपर सोधपुछको काम भइरहेको डिएसपी श्रेष्ठले बताए।

प्रकाशित मिति : १२ श्रावण २०७८ मंगलबार ००:००  १२ : ४८ बजे