७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

माओवादी रोजेकी सांसद विमला कुमारी ओली एमालेमै फर्किइन्



बुटवल ।

केही दिनयता सम्पर्कविहीन भनिएकी लुम्बिनी प्रदेश सांसद विमला कुमारी ओली खत्रीले आफू एमालेमा रहेको बताएकी छिन् । यसअघि १९ वैशाखमा आफ्नो खुशीले माओवादी केन्द्र रोजेको भन्दै विज्ञप्ति निकालेकी उनले सोमबार एमालेमा रहेको भन्दै विज्ञप्ति निकालेकी छिन् ।

विज्ञप्तिमा उनले भनेकी छिन्, ‘मैले सूर्य चिन्हबाट चुनाब जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्दछु ।’
१९ वैशाखमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने समयमा माओवादी सांसदको हैसियतमा हस्ताक्षर गरेकी थिइन् ।

उनले त्यसैबेला पत्रकार सम्मेलन गर्दै ओलीले आफूलाई कसैले माओवादीमा लाग्न दबाब नदिएको र आफूले राजीखुसी पार्टी छानेको बताएकी थिइन् । २०७४ सालमा एमालेबाट निर्वाचित भएका श्रीमान् उत्तरकुमार ओलीको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनबाट उनकी श्रीमती विमला प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
ओली दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेश सभा निर्वाचन क्षेत्र ९ख० मा भएको उपचुनावमा नेकपाबाट निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८ सोमबार ००:००  ५ : ०८ बजे