२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

अव्यवस्थित पार्किङले व्यापारिक नाका कृष्णनगर अस्तव्यस्त



कृष्णनगर, १२ साउन ।
भारतसँग सीमा जोडिएको कपिलवस्तुको कृष्णनगरमा अहिलेसम्म बस पार्किङ नहुँदा अस्तव्यस्त बनेको छ । नेपाल–भारत आवतजावत गर्ने मुख्य नाकाको रुपमा मानिने कृष्णनगरमा व्यवस्थित पार्किङ नहुँदा मुख्य चोक आसपासमै आधा सडक छेकेर सवारीहरु यत्रतत्र रोकिन बाध्य भएका छन् ।
आधा सडक छेकिने गरी सडक छेउछाउमा यातायातका सवारी साधन पार्किङ गरिँदा कृष्णनगर बजार वर्षौंदेखि अव्यवस्थित बनेको हो । सवारी चापसँगै अव्यवस्थित पार्किङ हुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ ।
व्यवस्थित पार्किङको अभावमा सवारी साधनहरु सडक छेउछाउमै जथाभावी पार्किङ हुने गरेका छन् । यसले गर्दा भारतबाट नेपाल भित्रिने तथा नेपालबाट भारततर्फ जाने स्वदेशी तथा विदेशी पर्यटकले समस्या बेहोर्नु परेको जनगुनासो बढेको छ ।
कृष्णनगर बजार धेरै पुरानो शहरको रुपमा परिचित छ । भारत छिर्ने नाका तथा किनमेलको प्रमुख व्यापारिक केन्द्र नै कृष्णनगर बढनी भएको बुढापाका बताउँछन् ।
कृष्णनगर बढनीमा बजार गर्नका लागि कुनैबेला पैदल हिँडेर जाने आउने गरेको बुढापाकाको भनाई छ । समय परिवर्तनसँगै सडक निर्माण भयो, सवारी साधन गुड्न थाले ।
अहिले जनसंख्या वृद्धिसँगै सवारी साधनको चाप बढेको हो । तर अहिलेसम्म पनि सवारी साधन रोक्ने पार्किङको व्यवस्थापन हुन नसक्दा कृष्णनगर बजार नै अव्यवस्थित बन्दै गएको स्थानीयबासी लक्ष्मण भुषाल गुनासो गर्नुहुन्छ ।

प्रकाशित मिति : १२ श्रावण २०७४ बिहिबार ००:००  २ : ०१ बजे