८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ट्राफिकको एक महिने सचेतना अभियान जारी



सीताराम चौधरी, चन्द्रौटा, १३ साउन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले शुक्रबारदेखि थालेको सादा पोशाक अप्रेसनसँगै ट्राफिक नियम उलंघन गर्ने सवारी धमाधम कारबाहीमा पर्न थालेका छन् ।
ट्राफिक नियमको ज्ञान भएर पनि लापरवाही गर्ने र ट्राफिक प्रहरीलाई नटेर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न एक महिने अभियानसँगै ट्राफिकले सादा पोशाक अप्रेसन थालेको हो । अप्रेसनका क्रममा शुक्रबार विहान दुई घण्टामै ३० बढी मोटरसाइकल कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी निरीक्षक अमर बहादुर कार्कीले जानकारी दिनुभयो । ट्राफिक नियमको उलंघन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याउने र सहज ट्राफिक व्यवस्थापनद्वारा सवारी दुर्घटनामा कमी ल्याउन अप्रेसन शुरु गरिएको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
जिल्लाका विभिन्न स्थानमा सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरिएको छ । “यस अप्रेसनमा सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले ट्राफिक नियम उलंघन गर्ने सवारी चालकलाई रोक्ने गर्छन् र उनीहरुको सम्बन्धित कागजात तथा सवारी साधन समेत नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेमा ल्याइन्छ ।” –प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । “कारबाहीमा परेका सवारी चालकहरुलाई अडियो तथा भिडियो समेतको ट्राफिक सचेतना कक्षा पश्चात नियमानुसारको जरिवाना गरी छाडिन्छ ।” – उहाँले भन्नुभयो । विशेष गरी हेलमेट नलगाउने र तीन जना चढाउने मोटरसाइकलमा केन्द्रित रही अप्रेसन संचालन गरिएको ट्राफिक प्रहरी निरीक्षक कार्कीको भनाई छ । शुक्रबार विहान बुद्धभूमि नगरपालिकाको बुड्ढी चोकमा विहान संचालन गरिएको सादा पोशाक अप्रेसनमा मात्र ३० बढी मोटरसाइकल आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्कीले जनाउनुभयो ।
“स्लो डाउन सेभ लाइफ” भन्ने मूल नाराका साथ गत असार २५ गतेदेखि जिल्ला ट्राफिक प्रहरीले एक महिने ट्राफिक सचेतना अभियान संचालन गरेको हो । अभियानका क्रममा जिल्लाका विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक कार्यक्रम संचालन गरेको छ । ट्राफिकले बुद्धभूमि १०, बिजगौरीमा ट्राफिक सचेतनामूलक भिडियो प्रदर्शन गरेको थियो । जसमा झण्डै २सय स्थानीयको उपस्थिति रहेको ट्राफिकले जनाएको छ ।
चालक र सहचालकलाई लक्षित गरी ट्राफिकले वाणगंगा नगरपालिका चार नम्बर जितपुर चोकस्थित रोयल बाणगंगा पार्टी प्यालेसमा ट्राफिक जनचेतनामूलक प्रशिक्षण सम्पन्न गरेको जनाएको छ । जसमा बुटवल यातायात समिति, लुम्बिनी ई–रिक्सा समिति, नेपाल किसान ट्याक्टर समितिका एक सय बढी चालक र सहचालकको सहभागिता रहेको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । ट्राफिक सचेतना अभिवृद्धि गरी दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण दिइएको उहाँले बताउनुभयो ।
यस्तै सडक दुर्घटनामा कमी ल्याउन जिल्लाको कृष्णनगरस्थित सेन्टज्यूड्स सेकेन्डरी स्कूलका २सय बढी बालबालिकाहरुलाई भिडियो डकुमेन्ट्रीमार्फट ट्राफिक सचेतनाबारे सहजीकरण गरिएका बताइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७४ शुक्रबार ००:००  १० : ११ बजे