४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

देवी ज्ञवालीको छोरालाई तत्काल रिहाई गर्न एमालेको माग



भक्तपुर, १८ साउन ।
नेकपा एमालेले सामाजिक सञ्जालमा गाली गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका प्रमुखका उम्मेदवार देवी ज्ञवालीका छोरा निरवलाई पक्राउ गरेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार बालकोट स्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उहाँकै अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले तत्काल उहाँलाई रिहाई गर्न माग गरेको एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले बताउनुभयो ।
माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकाका प्रमुखका उम्मेदवार रहेकी रेणु दाहाललाई दुई महिनाअघि सामाजिक संजालमा प्रतिक्रिया लेखेको बिषयलाई लिएर चुनावको मुखमा निरवलाई पक्राउ गर्नु चुनाव नै प्रभावित पार्ने षडयन्त्र भएको एमालेले ठहर छ ।
गएको जेठ १४ गते राति माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निरवले फेसबुकमा आफूलाई गाली–गलौज गर्दै स्टाटस लेखेको भन्दै रेणुले चितवन प्रहरीमा उजुरी दिएको बिषयलाई लिएर उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यसैगरि बैठकले तीन जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका उम्मेदवारका लागि पार्टी जिल्ला कमिटीबाट आएका सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिसलाई सदर गरेको छ ।
जसअनुसार कन्चनपरमा प्रमुखमा खैरु तामाङ र उपप्रमुखमा सानुकमारी बुढा थापा, कैलालीमा सुर्यबहादुर थापा र सुन्दरी देबी थारु त्था डोटीमा प्रमुखमा रामबहादुर ऐर र उपप्रमुखमा सशी सोवलाई उम्मेदवार बनाउने निर्णय भएको पोखरेलले बताउनुभयो ।
यसैगरी बाँके जिल्लामा प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष ओली र प्रदेश ईन्चार्ज बिष्णु पौडेललाई जिम्मा दिने निर्णय गरेको छ । बैठकले बिरामी अबस्थामा रहनु भएका पार्टी केन्द्रीय सदस्य नजिर मियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको स्थायी कमिटी सदस्य पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : १८ श्रावण २०७४ बुधबार ००:००  ३ : ४५ बजे