२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

गुल्मीमा करेन्ट लागेर एक युवाको मृत्यु



गुल्मी । गुल्मीमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ। यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–५ अधेरी बस्ने कृष्ण प्रसाद भण्डारीका २४ वर्षीय छोरा ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार सिमलचौर र हापटारीस्थित रहेको खेतमा मङ्गलबार दिउँसो भण्डारी पानी लगाउन जानुभएको थियो। अबेरसम्म घर नफर्किएपछि आफन्त तथा छरछिमेकीले खोजतलास गरेका थिए। सबैतिर खोजी गर्दा पनि सम्पर्कमा नआएपछि प्रहरीलाई जानकारी गराइएको थियो।

खोजतलास गर्ने क्रममा बुधबार बिहान ९ः१५ बजे सिमलचौरस्थित आफ्नै खेत नजिकै रहेको बिजुलीको पोलबाट लत्रिएको केवल तारबाट करेन्ट लागेको अवस्थामा भण्डारीको शव फेला परेको उहाँले जानकारी दिनुभयो। घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। घटनाको थप अनुसन्धान तथा घटनास्थल र लास जाँच मुचुल्काको काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८३ बुधबार ००:००  ११ : १४ बजे