२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

नमुना सामुदायिक वनको १६औँ वार्षिक साधारणसभा सम्पन्न


२० आश्विन २०८३ मंगलबार ००:००  

12
Shares

बाबुराम रायमाझी, असोज १९ ।

“समृद्धिका लागि वन” भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–९ मा रहेको नमुना सामुदायिक वन उपभोक्ता समूहको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। समूहको आफ्नै कार्यालय परिसरमा आयोजित साधारणसभामा समूहकी सचिव अनिता खत्रीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वन संरक्षण, संवर्द्धन तथा उपभोक्तामुखी कार्यक्रमका क्षेत्रमा समूहले गरेका विभिन्न गतिविधिबारे जानकारी गराएकी थिइन। यस्तै, कोषाध्यक्ष पूजा पाण्डेले आर्थिक वर्ष २०८२/०८३ को कुल ५१ लाख ६५ हजार रुपैयाँ बराबरको आय–व्यय विवरण साधारणसभामा सार्वजनिक गरेकी थिइन।

साधारणसभामा समूहका अध्यक्ष हुमलाल पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि करिब १ करोड १८ लाख ४६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो।प्रस्तावित बजेटमा अति विपन्न वन उपभोक्ता परिवारको गरिबी न्यूनीकरण तथा जीविकोपार्जनमा सहयोग गर्ने, आयआर्जन तथा व्यवसायमुखी तालिम सञ्चालन गर्ने, महिला सशक्तीकरणका कार्यक्रम अघि बढाउने, सामुदायिक विकासमा योगदान गर्ने, वन विकास तथा संरक्षणलाई प्राथमिकता दिने, स्वास्थ्य बीमा तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने र खेलकुद व्यवस्थापनलगायतका कार्यक्रम समावेश गरिएको अध्यक्ष पौडेलले बताउनुभयो।

सामुदायिक वनले वन संरक्षणसँगै उपभोक्ताको सामाजिक तथा आर्थिक विकासमा समेत योगदान पुर्‍याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो। आगामी दिनमा वनको संरक्षणसँगै वन उपभोक्ताको जीविकोपार्जन र आयआर्जनका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको समुहका अध्यक्ष पौडेलको भनाइ रहेको थियो।

साधारणसभाका अवसरमा बाल विकास केन्द्रमा अध्ययनरत विद्यार्थी, कपिलधाममा रहेको गुरुकुलका बटुक तथा वन संरक्षणमा खटिएका वन हेरालुलाई नगदसहित सम्मान गरिएको थियो। वन संरक्षण तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको समूहले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा वाणगंगा नगरपालिका–९ का वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वनको दिगो संरक्षण र संवर्द्धनका लागि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो। वन संरक्षण केवल वन समूहको मात्रै जिम्मेवारी नभई सम्पूर्ण उपभोक्ता र समुदायको साझा दायित्व भएको वडा अध्यक्ष पौडेलले सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक विकासका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको भन्दै वडा कार्यालय र सामुदायिक वनबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने बताउनुभयो। उहाँले सामुदायिक वनको पूर्वाधार विकास तथा आवश्यक अन्य क्षेत्रमा वडा कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, विशिष्ट अतिथि तथा सब–डिभिजन वन कार्यालय गोरुसिङेका प्रमुख चन्द्रबहादुर भाट क्षेत्रीले सामुदायिक वन समूहले आफ्ना गतिविधि सञ्चालन गर्दा प्रचलित वन ऐन, नियम तथा कानुनी प्रावधानको पालना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले वनको संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो।
साधारणसभामा वैज्ञानिक वन उपभोक्ता महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डिल्लीराज रेग्मीले दिगो वैज्ञानिक वन व्यवस्थापनको अवधारणा लागू भएपछि वन व्यवस्थापनसँगै सामुदायिक विकासका गतिविधि समेत अघि बढेको बताउनुभयो। वनको दिगो व्यवस्थापनबाट उपभोक्ताले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा वैज्ञानिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष दीपक थापा, कोइलीचौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणि भुसाल, कपिलधामका अध्यक्ष शंकरप्रसाद आचार्य, भलवाड स्वास्थ्य चौकीका प्रमुख जितविकास रायमाझी तथा उपभोक्ताका तर्फबाट खेलराज पौडेललगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। वक्ताहरूले नमुना सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक तथा सामुदायिक विकासका क्षेत्रमा गर्दै आएका कार्यहरूको प्रशंसा गर्नुभएको थियो।
कार्यक्रम समूहका अध्यक्ष हुमलाल पौडेलको अध्यक्षता, उपाध्यक्ष श्रीधर घिमिरेको स्वागत तथा केशव पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो।
वाणगंगा नगरपालिका–९ मा रहेको नमुना सामुदायिक वन २६१.९० हेक्टर क्षेत्रफलमा फैलिएको छ। वन उपभोक्ता समूहमा हाल २९८ घरधुरी आबद्ध रहेका छन्। वन संरक्षण, संवर्द्धन र उपभोक्ताको सामाजिक–आर्थिक विकासलाई प्राथमिकतामा राख्दै समूहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : २० आश्विन २०८३ मंगलबार ००:००  ८ : २४ बजे