२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

कपिलवस्तुको बाणगंगामा देवीभागवत नवाह ज्ञान महायज्ञ हुँदै



कपिलवस्तु, २० असोज ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–६, मधुवन सरिताकोलोनीस्थित मनकामना मन्दिरमा देवीभागवत नवाह ज्ञान महायज्ञ–२०८३ आयोजना हुने भएको छ।
धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक जागरणको उद्देश्यसहित आयोजना गर्न लागिएको महायज्ञ असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ। महायज्ञमा अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध कथा वाचिका आरतीकृष्णप्रियाको मुखारबिन्दबाट संगीतमय कथा वाचन हुने बताइएको छ।

महायज्ञको शुभारम्भ असोज २५ गते बिहान १० बजे शोभाकलश यात्रा तथा दिउँसो २ बजे देवीभागवत नवाह ज्ञान महायज्ञको समुद्घाटनबाट गरिनेछ। असोज २६ गतेदेखि प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म मण्डप पूजा, बिहान ८ बजेदेखि ११ः३० बजेसम्म मूलपाठ एवं स्तोत्री, चण्डीपाठ, मन्त्रजापलगायतका धार्मिक अनुष्ठान सञ्चालन हुनेछन्।

त्यसैगरी दिउँसो १२ः३० बजेदेखि ४ः३० बजेसम्म संगीतमय कथा वाचन, साँझ ४ः३० बजे सन्ध्याकालीन आरती, पुष्पाञ्जली तथा प्रसाद वितरण र साँझ ७ः३० बजेदेखि राति १० बजेसम्म भजनकीर्तन हुने आयोजकले जनाएको छ।

महायज्ञमा धार्मिक प्रवचन, कथा वाचन, भजनकीर्तन तथा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिनेछ। आयोजक समितिले महायज्ञमा सहभागी भई कथा श्रवण तथा धार्मिक अनुष्ठानमा सहभागिता जनाउन आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा श्रद्धालु भक्तजनलाई आग्रह गरेको छ।

आयोजक देवीभागवत नवाह ज्ञान महायज्ञ सम्पादन मूल समितिले महायज्ञलाई धार्मिक आस्थासँगै सामाजिक सद्भाव, एकता र सकारात्मक चेतना अभिवृद्धिको अवसरका रूपमा लिएको जनाएको छ।

प्रकाशित मिति : २० आश्विन २०८३ मंगलबार ००:००  ८ : ५१ बजे