डिलाराम भुसाल, कपिलवस्तु । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी कपिलवस्तुका नौ स्थानमा संयुक्त यात्रु तथा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले यात्रा सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा सहायता कक्ष स्थापना गरिएको हो। तौलिहवास्थित बसपार्कमा आयोजित कार्यक्रमबीच सहायता कक्षको शुभारम्भ गरिएको छ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले सहायता कक्षले चाडपर्वका समयमा यात्रुले भोग्न सक्ने समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने बताए। चाडपर्वमा यात्रु ठगिने, सामान हराउने, बस छुट्ने तथा टिकट र सिट नपाउनेजस्ता समस्या आउन सक्ने भन्दै उनले सहायता कक्ष प्रभावकारी बन्नुपर्नेमा जोड दिए।
त्यस्तै, संवेदनशील जिल्लाका रूपमा रहेको कपिलवस्तुमा धार्मिक सद्भाव कायम राख्दै चाडपर्वको समयमा सुरक्षा व्यवस्था थप मजबुत बनाउनुपर्ने उनले बताए।
निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले चाडपर्व लक्षित एकीकृत सुरक्षा रणनीति तयार पारिएको जानकारी दिँदै सहायता कक्षले सर्वसाधारणलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सहयोग पुग्ने बताए।
भारतबाट दशैं तथा तिहार मनाउन घर फर्किने प्रवासी नेपालीको चाप सीमा नाकामा बढ्न थालेकाले सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरी उपरीक्षक मनोहर भट्टले बताए। विगतमा सीमा नाका तथा यात्राका क्रममा सर्वसाधारण र प्रवासी नेपालीले सास्ती भोग्नुपरेका गुनासोलाई मध्यनजर गर्दै सहायता कक्ष सञ्चालनमा ल्याइएको उनले बताए।
सीमा नाकामा यात्रु ठगिने, लुटिने तथा दुर्घटनामा पर्ने जोखिमलाई ध्यानमा राखी सुरक्षाकर्मीलाई निगरानी बढाउन निर्देशन दिइएको एसपी भट्टले जानकारी दिए। यात्रु सहायता कक्षसँगै क्विक रेस्पोन्स टिम परिचालन, नागरिकमैत्री सुरक्षा वातावरण निर्माण, दुर्घटना न्यूनीकरणका लागि पर्चा–पम्प्लेट वितरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए।
जिल्लाको भौगोलिक अवस्था र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सीमा क्षेत्रमा तीन र सीमा बाहिर छ गरी नौ स्थानमा सहायता केन्द्र स्थापना गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए।
उनका अनुसार सीमा क्षेत्रका कृष्णनगर, मर्यादपुर र चाकडचौडा तथा सीमा बाहिरका तौलिहवा, चन्द्रौटा, गोरुसिंगे, पिपरा, बहादुरगञ्ज र पकडीमा सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ। प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली खटिने कक्षबाट यात्राका क्रममा समस्यामा परेका नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराइने उनले बताए।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले चाडपर्वका बेला प्रवासी नेपाली तथा आम नागरिकले सीमा नाका र सडकमा भोग्दै आएको सास्ती अन्त्य गर्न सहायता कक्ष प्रभावकारी हुनुपर्ने बताए। नागरिक र सुरक्षा निकायबीचको सहकार्यबाट मात्रै सुरक्षित र सहज यात्रा सम्भव हुने उनको भनाइ थियो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार यात्रु तथा नागरिक सहायता कक्ष दशैं, तिहार र छठ पर्वको अवधिभर निरन्तर सञ्चालनमा रहनेछ।











प्रतिक्रिया