१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

काठमाडौंमा आजदेखि बिम्स्टेकको १५ औँ मन्त्रिस्तरीय बैठक



काठमाडौं, २६ साउन ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको १५ औँ मन्त्रिस्तरीय बैठक बिहीबार हुँदैछ । सचिवस्तरीय बैठकले एजेण्डा तय गरेपछि बेलुका ८ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको एक होटलमा मन्त्रीस्तरीय बैठकको उद्घाटन गर्ने कार्यक्रम छ ।
बैठकमा सहभागी हुन सदस्य देशका विदेश सचिव बुधबार नै काठमाडौं आइपुगेका छन् भने विदेशमन्त्रीहरु बिहीबार नै काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । आपसि लगानी, व्यापार, गरिबी निवारण र विकास जलवायु परिवर्तन, प्रतिआतंकवाद र यसका लागि साझेदारी लगायत विषय मुख्य एजेण्डा बनाउने तयारी छ ।
बैठक सुरु हुनुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सवै देशका विदेश मन्त्रीलाई सामूहिक भेट गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय विदेशमन्त्री स्वराजले पनि सबै देशका समकक्षीसँग भेट गर्ने तयारी गर्नुभएको छ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत पूर्व प्रधानमन्त्री र दलका नेतासँग छुट्टाछुट्टै भेट गर्ने तयारी पनि गर्नुभएको छ ।
बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचारविमर्श हुनुका साथै बैठकले बिम्स्टेक देशका राष्ट्राध्यक्षरसरकार प्रमुखको चौथो शिखर सम्मेलनको मिति टुंगो लगाउने अपेक्षा गरिएको छ ।
मन्त्रिस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गर्नुहुनेछ । व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संसाधन, पर्यटन, कृषि, पूर्वाधार र यातायातजस्ता क्षेत्रमा सहायता परियोजना कार्यान्वयन गरी सदस्य देशको द्रुत आर्थिक विकास गर्ने उद्देश्यले २० वर्षअघि बिम्स्टेकको स्थापना भएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७४ बिहिबार ००:००  ३ : १२ बजे