१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

इराकबाट जर्मनी हिंडेका ५ नेपाली ग्रिसको जेलमा



काठमाडौं, भदौ २ ।
अवैध रुपमा ग्रिस पुगेका ५ नेपालीलाई त्यहाँको हिरासतबाट उद्धार गरेर नेपाल फर्काउने तयारी भएको छ । इराकबाट जर्मनी हिंडेका उनीहरु दुई महिना पहिले टर्की हुँदै ग्रिस पुगेका थिए । ग्रिसबाट जर्मनी जाने तयारीमा रहेका उनीहरुलाई त्यहाँको प्रहरीले पक्रेर हिरासतमा राखेको थियो ।
उनीहरुलाई ग्रिसको लेभोस टापुबाट प्रहरीले पक्रेको थियो । सिन्धुलीका तुलसी धमला, नवलपरासीका यमबहादुर गुरुङ र वेनिराम महतो, पर्वतका सवी गुरुङ र लाकेन्द्र नेवार पक्राउ परेका हुन् ।
पहिले यसैगरि साथी जर्मनी पुगेकाले उनीहरु पनि समुद्रीबाटो भएर इराकहुँदै ग्रिस पुगेका थिए । ग्रिसमा पक्राउ परेपछि प्रहरीले उनीहरुलाई नेपाली दूतावासबाट नेपाली हो भन्ने प्रमाणसहितको पत्र ल्याए छाडिदिने भनेको थियो ।
त्यसपछि पीडितले फ्रान्सस्थित नेपाली दूतावासमा आफ्ना कागजात पठाएका थिए । तर दूतावासले लामो समयसम्म उनीहरुको कागजात ग्रिस प्रहरीमा नपठाएपछि झण्डै दुईमहिना जेल बस्न बाध्य भएका थिए ।
दूतावासबाट पत्र पुगेपछि अहिले उनीहरु टिकट मिलाएर नेपाल फर्किने तयारीमा रहेको पीडितले बताएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  ७ : ४६ बजे