१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नारायणगढ–मुग्लिन सडकखण्डका जोखिम पूर्ण घर हटाइँदै



चितवन, २० भदौ ।
नारायणगढ मुग्लिन सडकखण्डको सडक छेउमा रहेका पहिरोको उच्च जोखिममा परेका ४५ वटा घर स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
मुआब्जा निर्धारण समितिले गठन गरेको उपसमितिले पेश गरेको मुआब्जा रकमलाई समितिले अनुमोदन गरी घरधनीलाई मुआब्जा लिन आउन आह्वान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ४५ वटा घर, गोठ, शौचालय, पसललगायतको मुआब्जा एक करोड ४४ लाख १४ हजार रुपैयाँ निर्धारण गरिएको छ । विश्व बैंकको सहयोगमा सडक निर्माण भइरहेकाले अहिलेको भन्दा स्तरीय संरचना निर्माण गर्न बजेट पुग्ने गरी मुआब्जा निर्धारण गरिएको मुआब्जा निर्धारण उपसमितिका संयोजक नेत्रप्रसाद शर्माले बताउनुभयो ।
विस्थापन भत्ता प्रतिघर २० हजार, अर्को घर नबन्दासम्मका लागि भाडा रकम १० हजार, हाल व्यवसाय भए अर्को व्यवसाय नथालेसम्मका लागि १० हजार र दलित जनजाति भएमा थप १० हजार रुपैयासमेत दिइने छ । यस कार्यका लागि २० लाख ८० हजार रुपैया वितरण गरिँदै छ ।
नारायणगढ मुग्लिन सडक आयोजनाले जिल्ला प्रशासन कार्यालयमा गएको आवमा मुआब्जाका लागि ५० लाख रुपैयाँ पठाइसकेको थियो । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार थप रकम तत्काल पठाउन सकिने हुँदा प्रभावितले तुरुन्तै मुआब्जा रकम पाउने छन् ।
जीवनपयोगी सीप विकासका लागि आयोजनाले गत वर्ष पनि च्याउ, ब्रिकेट, बाख्रापालनलगायतका तालीम दिएको थियो । खनालका अनुसार यस वर्ष पनि त्यस्ता तालीम दिइने छ । तालीमपछि उनीहरुले काम गर्नका लागि १० हजार रुपैयाँ पाउने छन् । उनीहरु बसेका सबै जमिन बाटो क्षेत्र पर्दछ । विश्व बैंकको सहयोगमा सडक विस्तार भएकाले व्यवस्थित स्थानान्तरण र जीवन सञ्चालनमा सहयोग पु¥याउने काम आयोजनाबाट हुनुपर्ने हुन्छ । सडक विस्तारका क्रममा ठाउँठाउँमा पहिरो खसेको र कतिपय ठाउँमा चौडा बनाउँदा स्थानीयवासीलाई स्थानान्तरण गर्नुपरेको हो । रासस

प्रकाशित मिति : २० भाद्र २०७४ मंगलबार ००:००  ११ : ०३ बजे