१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

दशै नजिकिए संगै बुटवलमा पहाडिया खसी, बोकाको विक्री बढ्यो



लक्ष्मण पोखरेल, बुटवल, ४ असोज ।

दशै नजिकिए संगै बुटवलमा पहाडिया खसी, बोका विक्री बढेको छ । नवदुर्गामा बली चढाउने प्रयोजनका लागि नेपालमै उत्पादित बोकाहरुको घटस्थापना अघि नै विक्री हुने गर्दछ । घटस्थापना लागेसंगै बुटवलमा ६० प्रतिशत भारतीय खसी बोका भित्रिने गर्छन् ।

पाल्पा, गुल्मी, अर्घाखांची, स्याङजा र दाङबाट व्यवसायीहरुले खसी बोका ल्याई बुटवलको हाटबजारमा विक्रि गर्दै आएका छन् । भारतबाट आउने खसी भारतकै मन्दिरमा चढाउने र पछि व्यापारीले नाकाबाट छल्दै नेपाली बजारमा विक्रि गर्ने हुंदा नेपाली धार्मीक संस्कारमा भारतिय खसीको बली चढाउन उत्तम नहुने जानकारहरु बताउंछन् । बुटवलमा खसी, बोका विक्री गर्दै आउनुभएका व्यापारी दिनेश घिमिरेले पहाडीया खसीबोकाको मुल्य बढी भए पनि उपभोक्ताको माग बढी रहेको बताउनुभयो ।

घटस्थापना पछि मासुका लागि खसी बोकाको विक्री बढि हुने भएपनि नवदुर्गा, कालरात्रिको बलीका लागि चढाउने खसी बोकाहरु अहिले विक्रि भइरहेको उहांको भनाई छ । रुपन्देहीमा दशैमा मात्र करिव २५ हजार खसी बोका विक्रि हुदै आएको छ । अर्का व्यवसायी नरजंग थापाले नेपाली बजारमा घटस्थापनापछि ६० प्रतिशत भारतिय र ४० प्रतिशत मात्र नेपाली खसी बोका विक्रि हुने गरेको बताउनुभयो ।

रुपन्देही जिल्लामा दशैको समयमा दैनिक १ हजार बढी जिउदा खसीबोका, ९ सय केजी लोकल कुखुराको मासु र १८ सय केजी बोईलर कुखुराको मासु विक्रि हुने गरेको मासु व्यवसायी संघले जनाएको छ । दशैको बजार चहल पहल भैरहवा सुनौली नाका हुदै भारतीय खसीबोका नेपाल भित्रिन शुरु भएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  १ : ५९ बजे