१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

तीन दिनअघि निर्माण व्यवसायी गौचनमाथि रमेश बाहुन समूहले गरेको थियो हातपात



काठमाडौं, असोज २३ । नयाँ बानेश्वरको खरीबोट नजिकै गोली हानी हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गुण्डा नाइके सुजन पौडेल ९रमेश बाहुन०को समूहले केहीदिन अघि हातपात गरेको रहस्य खुलेको छ । गुण्डागर्दी गर्दै अवैध चन्दा असुल्दै आएको रमेश बाहुन समूहले तीन दिनअघि आर्थिक लेनदेनको विषयमा गौचनमाथि हातपात गरेको देखिएको एआइजी जयबहादुर चन्दले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
घटनाको प्रकृति हेर्दा पनि पेसेवर सुटरले गोली हानेको देखिएको चन्दको भनाइ छ । उहाँको अनुसार गोली हान्नकै लागि हायर गरेर सार्प सुटर ल्याइएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।
बाहुनले निर्माण व्यवसायी र गिट्टी बालुवा व्यवसायीसँग अवैध रुपमा चन्दा असुल्दै आएका छन् । दुई वर्षअघि ललितपुरका मिनकृष्ण महर्जनलाई गोली हानेका बाहुन लागूऔषध मुद्दामा कारागारमा छन् । बाहुन प्रहरीको गुण्डा सूचिमा ‘ए क्याटेगोरी’ का गुण्डा हुन् ।
आशंका गरिएका व्यक्तिहरुको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले जानकारी दिनुभयो । काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाएर प्रहरीले चेकिङ गरिरहेको छ ।
गौचन बा १३ च ४९४८ नम्बरको ल्याण्डक्रुजर गाडीमा घरबाट अफिस जान निस्केका थिए । घरबाट ५० मिटर जति अगाडि पुगेपछि उनको गाडिमा पहिला ईटा प्रहार गरिएको थियो । ईटा प्रहार गरेलगत्तै मोटरसाइकलमा आएका दुई जनाले गौचनमाथि गोली प्रहार गरेका थिए । ईटा लागेर गाडीको अगाडिको भागको सिसासमेत चर्केको छ ।
गौचनको बायाँ कोखा र छातीमा गरी दुई गोली लागेको प्रहरीले जनाएको छ । गोली लागि गम्भीर घाइते भएका गौचनलाई उपचारका लागि सिभिल अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको अस्पतालले जनाइसकेको छ ।
गाडीका चालक रामकुमार खत्री भने सुरक्षित छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । घटनाका थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशीले बताउनुभयो ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  १२ : ३८ बजे