कपिलवस्तु । प्रिन्सिपल्स एसोसिएसन नेपाल (पान) द्वारा तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ का लागि छनोट गरिएका उत्कृष्ट आधारभूत विद्यालयमध्ये लुम्बिनी प्रदेशबाट कपिलवस्तुको बाणगंगा नगरपालिका–८, चप्परगाउँस्थित श्री सूर्योदय आधारभूत विद्यालय छनोट भएको छ।
लुम्बिनी प्रदेशअन्तर्गत आधारभूत तह सञ्चालन गर्ने विद्यालयहरूमध्ये सूर्योदय आधारभूत विद्यालयलाई उत्कृष्ट विद्यालयका रूपमा छनोट गरिएको हो। विद्यालयलाई आगामी मंसिर ४ देखि ६ गतेसम्म मधेस प्रदेशको जनकपुरधाम, धनुषामा आयोजना हुने तेस्रो राष्ट्रिय सम्मेलनका अवसरमा पुरस्कार तथा सम्मान प्रदान गरिनेछ।
बाणगंगा नगरपालिकामा नमुना विद्यालयका रूपमा स्थापित यस विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निरन्तर प्रयास गर्दै आएको छ। विद्यालयको शैक्षिक उपलब्धि हासिल गर्न अभिभावक, विद्यार्थी तथा शिक्षकहरूको मेहनत र सहकार्य महत्त्वपूर्ण रहेको शिक्षक रेशमलाल खनालले मायादेवी अनलाइनलाई बताए।

प्रिन्सिपल्स एसोसिएसन नेपाल (पान) ले राष्ट्रिय सम्मेलनमार्फत स्थानीय सरकार पुरस्कार, विद्यालय पुरस्कार, प्रधानाध्यापक पुरस्कार, राष्ट्रिय शिक्षा उत्कृष्ट पुरस्कार तथा शिक्षा पत्रकारिता पुरस्कारलगायत विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई पुरस्कृत र सम्मानित गर्दै आएको छ।
लुम्बिनी प्रदेशबाट उत्कृष्ट विद्यालयका रूपमा छनोट हुनुले सूर्योदय आधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गरिएको प्रयास र सामूहिक सहकार्यलाई राष्ट्रिय स्तरमा पहिचान दिलाएको छ।
यसैबीच स्थानीय सरकार पुरस्कार विधामा कपिलवस्तुको शिवराज नगरपालिका छनौटमा परेको छ ।











प्रतिक्रिया