१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ढोरपाटन सडकले निदाउँन दिएन



शिवलाल सुवेदी गुल्मी २५ असोज ।

गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीकी सीता विकलाई हिजो लाग्थ्यो घरमा फलेको साग अब सिधै बुटवल पुग्छ । घर नजिकै सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्ड भएकाले उनको आश स्वभाविक पनि हो । तर नजिकैबाट गएको सडकका कारण घर नै जोखिम परेपछि त्यो आश निराशामा परिणत भएको छ । उनको घर पहिरोले चिराचिरा पारेको छ ।
अहिले गोठमा बस्दै आएकी विकले आफ्ना गुनासा लिएर नभेटेका सायदै कोहि बाँकी छैनन् । तर समस्या ज्यूँ का त्यूँ छ । ‘बादल लागे निद्रा पर्दैन, घर आधा खस्यो,’उनले भनिन,‘नेता र कर्मचारी जसलाई भनेपनि गुहार पाइएन् ।’ सोहि ठाउँका ७९ बर्षिय लक्ष्मण कामीको बंगालो पनि आँखै अगाडी ढल्यो । भने घर नजिकैबाट पहिरो गएको छ । बाटो नआउँदै बरु आनन्दले घरमै सुतेको बताउँदै कामीले बुढेशकालमा दुख पाएको गुनासो गरे । ‘घर बाहिर निस्किए लडेर मरिन्छ के को विकास भन्ने,’ उनले भने,‘ बुढेशकालमा आफ्नै घरमा मर्न नपाइने भयो ।’ उनी जस्तै १४ घर दलित समुदाय नै पहिरोको उच्च जोखिममा रहेका छन् । १४ घरपरिवार मध्ये केहि परिवार बिस्थापीत समेत भएको सोहि स्थानका दुर्गा विकले बताए । ‘नेता भेट्दा आश्वासन मात्र पाइयो, घर भत्किएर त्रिपाल टाँगेर बसेका छौ,’ उनले भने,‘ दलित भएकै कारण माग संबोधन भएनन् ।’ पहिरोले घरमा बस्न सक्ने अवस्था नभएपछि उनले सिर्सेनी प्राविमा एक महिना बिताए । ‘अहिले चर्केकै घरमा छु, आँगन र शुर गैसक्यो,’उनले भने,‘विकासको आशमा दलित समुदायको बिनाश भयो ।’ उनले सडक आयोजनालाई पटक–पटक दवाव दिएपनि माथीबाट केहि निर्देशन नआएसम्म कुनै राहत नमिल्ने जवाफ दिने गरेको बताए । ७३ बर्षिया पुतली विक पनि पानी नआउँदा आफ्नै घरमा र पानी आए छिमेकीकोमा ओत लाग्न पुग्छिन् ।
यता सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाका प्रमुख होम एसीले स्थानीयको आपसी बिबादका कारण समस्या झन बल्झिएको बताए । उनले पहिरो खस्दै गएपछि आफुहरुले घरहरु हटाएर डाँडो सम्याउने र तलबाट पर्खाल उठाउने भनेपनि सहमती नजुटेको बताए । ‘शुरुमा टीनका पाता पनि बाँडियो,पछि स्थानीय आफैले बिबाद गरे,’उनले भने,‘अब पर्खाल उठाउने भन्दा आफुहरुसंग कुनै बिकल्प छैन् ।’ बर्षात भन्दा अघि पनि पर्खाल उठाउने काम गरेकाले अब केहि समयपछि पुन काम शुरु हुने एसीको भनाई छ । पहिरो पीडित सवै दलित समुदायको थोरै धेरै जे भएपनि आफ्नै जग्गा र लालपुर्जा छ । स्थानीय स्तरबाट साथै सडक आयोजनाले समेत अन्य कुनै स्थानमा बस्ती स्थान्तरण गर्ने बताएपनि आफुहरुले सोहि थलो नछोड्ने पीडित परिवारले बताए । ‘एक रोपनीमा भएपनि घर जग्गा छ, स्वाभिमानका साथ झुपडीमै निदाएका थियौ,’वडा सदस्य समेत रहेकी निरा विकले भनिन,‘ जानीजानी सुकुम्बासी कसरी बन्ने ।’आफुहरुलाई अस्थायी स्थान्तरण गरेर बस्ती व्यावस्थापन हुने भए केहि समय छोड्न तयार रहेको उनले बताइन् । ०७० सालबाटै दलित बस्ती असुरक्षित थियो । तर दुई वटा केन्द्रिय र एउटा स्थानीय चुनाव भएपछि पनि आफुहरुको समस्या समाधान नभएको पीडित सीता विकले बताइन् ।

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ३ : १९ बजे