१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सिद्धबाबा सडकको विकल्पमा नयाँ सडकको खोजी सुरु



सन्तोष बस्याल, पाल्पा, २७ असोज ।
सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड अन्तर्गत पाल्पा सिद्धबाबा क्षेत्रमा लगातार पहिरो जाने, ढुङ्गा खस्ने, र यात्रुको ज्यान समेत जाने समस्या भएपछी त्यसको बिकल्पहरुको अध्ययन अघि बढेको छ ।
सिद्धबाबामा ढुङ्गा खस्ने र जाममा परिने र मानिसहरुको अकालमै ज्यान जाने स्थिति नरोकिए पछी बिकल्प खोज्न भन्दै जन स्तरबाटै व्यापक दबाब आए पश्चात बिकल्पका बारेमा संबन्धित निकायले चासो बढाएका छन ।
बर्सौदेखी जनताले समस्या समाधानको आवाज उठाउदै आएको भएपनी यसमा ठोस काम हुन नसक्दा जनप्रतिनिधि र सरकारको पनि व्यापक आलोचना भैईरहेको थियो ।
अहिले भने जिल्ला समन्वय समिती पाल्पाको पहलमा सिद्धबाबा सडकको बिकल्प खोज्ने प्रयास भएको हो । जिल्ला समन्वय समिती, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, प्राबिधिक टोलि, पत्रकार लगाएतको टीमले झुम्सा चौकीभञ्ज्याङ, मुडिबास,चरेङगे सडकको अध्ययन गरेको छ ।
यस अघि जिल्ला समन्वय समिती र स्थानीय तहका जनप्रतिनिधिहरुको भेलाले यसै सडकलाई अगाडि बढाउने निर्णय गरेको थियो । यस सडक अन्तर्गत झुम्सादेखी चौकीभञ्ज्याङ् सम्म करिब ८ किमि सडकको ट्रयाक खुलिसकेको छ ।
यस्तै रुपन्देहीको चरेङगेदेखी मुडिबाससम्म पनि ट्रयाक खुलिसकेको छ । अब मुडिबासदेखि चौकी भञ्ज्याङ्सम्म करिब ४ किमि बाटोको नयाँ ट्रयाक खोल्नुपर्ने हुन्छ । जिल्ला प्राबिधिक कार्यलय पाल्पाका प्रमुख निर्मल प्याकुरेलले ट्रयाक खुलिसकेको ठाउमा ग्रेडिङ मिलाउनुपर्ने र थप चौडा गर्नुपर्ने भन्दै सबैभन्दा उत्तम विकल्प आफुहरुलाई पनि यहि लागेको धारणा व्यक्त गर्नुभयो ।
सडक डिभिजन कार्यलय पाल्पाका ईन्जिनियर सौजन्य नेपालले अन्यको तुलनामा ग्रेडिङ र लम्बाईको हिसाबले पनि यो सडक उपयुुक्त हुने बताउनु हुन्छ । सिद्धबाबा क्षेत्रको तत्काल समस्या हल नहुने देखिएकाले नयाँ बिकल्प खोज्नुपरेको जिल्ला समन्वय समितिका प्रमुख तथा यस बैकल्पिक बाटोका अध्यक्ष दयाराज बस्यालको तर्क छ ।
सडक निर्माणका लागि चाहिने आर्थिक रकम भने विभिन्न स्थानीय तहबाट बिनियोजन गर्ने र अपुग रकम सरकारबाट माग गर्ने समितिले निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७४ शुक्रबार ००:००  १ : ५० बजे