१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

अदालतमा हाजिर हुनुपर्ने बाध्यता अब हट्यो



भुवन पाण्डे, असोज ३१ भैरहवा ।
अब म्याद थपका लागि अभियुक्तलाई अदालतमा हाजिर गर्न नपर्ने भएको छ । रुपन्देहीमा सोमबार नेपालमै पहिलो पटक भिडियो संवाद मार्फत बयान लिई नयाँ प्रविधिको शुरुवात गरिएको हो । यसबाट सुरक्षा चुनौति हट्ने, जनशक्तिको बचत, समय र काम गर्न सजिलो हुने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो ।
भैरहवामा रहेको जिल्ला प्रहरी कार्यालयबाट पक्राउ परेका अभियुक्तसँग जिल्ला अदालतका मुख्य न्यायाधीश नरेश्वर भण्डारीले कार्यालयबाटै बयान लिई नयाँ प्रविधिको शुरुवात गर्नुभएको थियो ।
सोमबार थप अनुसन्धानका लागि म्याद थप गर्नुपर्ने ६ जनाको बयान लिइएको छ । जसमा पाँच जना लागू औषध कारबारी र एक जना मानव बेचबिखन अपराधमा पक्राउ परेका अभियुक्त रहेका छन् ।
जिल्ला प्रहरी र अदालतको सहकार्यमा नयाँ प्रविधिको शुरुवात गरिएको हो । खुला सिमाका कारण पछिल्लो समय रुपन्देहीमा विभिन्न अपराधीक कृयाकलापहरु बढ्दै गएका छन् । गएको आर्थिक वर्ष २०७३ । ७४ मा जिल्ला प्रहरी कार्यालयले एक हजार चार सय ८० जना अभियुक्तहरुको अदालतबाट म्याद थप गरि मुद्धा चलाएको थियो ।
आर्थिक वर्ष शुरु भए यता साउन र भदौ महिनामा दुई सय ९७ जनालाई मुद्धा चलाएको प्रहरीमा तथ्यांक रहेको छ । यसमा ८० प्रतिशत माथि लागु औषधका मुद्धा रहेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७४ मंगलबार ००:००  १ : २८ बजे