१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

हराउँदै देउसी भैलोको मौलिकता



दाङ, ५ कात्तिक ।
तिहारसँगै गाउँ तथा शहर जताततै देउसी भैलोको रौनक छ । क्लब, समूह, सहकारी, विद्यालयदेखि यहाँका सञ्चारकर्मीलाई देउसी भैलोले छोएको छ । बालक, युवा र वृद्धसम्म तिहारको देउसी भैलोमा झुमिरहेका छन् ।
तर देउसी भैलोको मौलिकता भने बर्सेनी हराउँदै गएको छ । विशेष गरी तिहारको अवसरमा नाचिने सोरठी, पैस्यारु, टप्पा, वनगारीलगायतका नाच हराउँदै गएका छन् । यसको सट्टा भैलोेमा तोकेरै पैसा असुल्ने, युवायुवती पश्चिमेली संस्कृतिका गीतमा नाच्ने गरेको पाइन्छ । नेपाली संस्कृति हराउँदै गएकामा दाङका थलबहादुर वलीले चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रा गाउँघरका सोरठी लगायतका संस्कृती देख्नै नपाइने स्थिति आयो, देउसी–भैलोमा तोकेरै पैसा असुलेको देख्दा दुःख लाग्छ ।”
परम्परागत देउसी भैलोलाई पछिल्लो समय आधुनिकताले प्रभावित गरेको छ । विशेष गरी युवायुवतीका कारण देउसी भैलोको मौलिकता मेटिने चिन्ता बुढापाकाले गर्न थालेका छन् । मादल, बाँसुरी, खँैजडी लगायतका बाँजाको माध्यमले कथाव्यथा प्रस्तुत हुने देउसी भैलोलाई हिजोआज पश्चिमेली संस्कृतिले प्रभावित गरेको स्थानीय समाजसेवी विश्वराज केसी बताउनुहुन्छ ।
बुढापाकालाई अहिले गीत कानै फुट्ला झैँ बजाएर नाचेको पटक्कै मन पर्दैन । पुरानो पुस्तालाई अहिलेको देउसी–भैलो पटक्कै मन परेको छैन । उनीहरु बलि राजाको गाथासहितको परम्परागत भैलो मन पराउँछन् । परिवारलाई आशिष दिँदै कम्मर मर्काइमर्काइ मादल, खैँजडीको तालमा नाचेको दृश्य नै रमाइलो लाग्ने गरेको बुढापाका बताउँछन् ।
हराउँदै गएको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यहाँका कृयाशील पत्रकारले परम्परागत भैलो खेलेका छन् । ‘संस्कृतिमा सञ्चार, भैलोमा पत्रकार’ नारासहित आफुहरुले सचेतनाका लागि भैलो खेलेको नेपाल पत्रकार महासंघ दाङ खाशाका सह–सचिव शर्मिला डिसीले बताउनुभयो । (रासस)

प्रकाशित मिति : ५ कार्तिक २०७४ आइतबार ००:००  ६ : ५४ बजे