४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

चिच्याएर बर माग्ने मध्यरातमा सकियो



पाल्पा, १९ कात्तिक ।
चिच्याएर बर माग्ने पाल्पाको सत्यवती मेला शनिबार राति देखि सकिएको छ । तिनाउ गाउँपालिका–४ कोलडाँडामा रहेको सत्यवती तालमा बिहीबारदेखि लागेको मेला मध्यराति देखि सकिएको मेला आयोजकले जनाएको छ ।

राति १२ बजेसम्म बर माग्नेहरुको भिड रहेको र आइतबार बिहान मात्रै भक्तजनहरु घर फर्किने सत्यवती ताल संरक्षण तथा विकास समितिका अध्यक्ष सुनविर गाहाले जानकारी दिनुभयो । सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण चिच्चाएर बरदान माग्ने चलन रहेको हो ।

सत्यवती मन्दिरको किनारमा रहेको ताल वरिपरि घुम्दै चिच्चाएर बरदान माग्ने मेलामा पाल्पा, गुल्मी, अर्घाखाची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत, बाग्लुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट भक्तजन आउँछन् ।

३ दिनसम्मको मेलामा ५ लाख बढी भक्तजन सहभागी भएको आयोजकले जनाएका छन् । गएको वर्ष भक्तजनको भेटी संकलनबाट झण्डै ८ लाख रुपैयाँ संकलन भएको जनाकारी दिँदै समितिका सचिव लाल बहादुर दर्लामीले यस वर्ष सात लाख रुपैयाँसम्म भेटी संकलन हुने बताउनुभयो ।

मन्दिरमा चढाइएको भेटीबाट संकलन भएको रकमले मन्दिर व्यवस्थापन, तालको सरसफाई, खानेपानी व्यवस्थापन, विद्युतीकरण, बाटो लगायतका क्षेत्रमा खर्च गरिएको समितिले जनाएको छ । तानसेन बुटवल सडकखण्डको चौविस माइलबाट ओरालो र उकालो झण्डै २ घण्टाको यात्रापछि सत्यवती तालमा पुग्न सकिन्छ ।

ओरालो र टोपी खस्ने उकालो बाटो साँघुरो र अप्ठ्यारो भएकाले ओहोर दोहोरोमा समस्या कठीन भएको भक्तजनको गुनासो छ । जंगलै जंगलको बाटो भए पनि ठाउँ ठाउँमा पूजा सामाग्री बेच्ने र अस्थायी होटल रहेकाले पनि पैदलयात्रुलाई सहज छ । मन्दिरपुगेपछि बाटोमा भएका कठीन यात्रा बिर्सिने भक्तजनले जनाएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७४ आइतबार ००:००  १ : ४९ बजे