२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

नटुवा भन्छन्, ‘लोपोन्मुख जातीको सुचीमा राख्नेलाई भोट दिन्छौँ’



दिपक अनुरागी, वाणगंगा, २० मंसिर ।
उमेरले लगभग चालिस काटेको जस्तो देखिने महेन्द्र नटुवा तीन पटक काठमाण्डौ धाए । जीवनमा कहिल्यै काठमाण्डौं नदेखेका महेन्द्र पहिलो पटक काठमाण्डौ पुग्दा स्वर्ग गएजस्तो महसुस भएको थियो । हातमा नागरिकताको प्रमाण बोकेर गृह मन्त्रालयको दैलो ढकढकाउन उनी पुगेका हुन । सरकार संग आफुहरुलाई लोपोन्मुख जातीको सूचीमा राख्न माग गर्न थालेको तीन दशक वित्यो तर राज्यले अझै सुनेको छैन । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ प्रगतिनगरमा १४ घरमा २ सय बढी नटुवाको बसोबास छ । सुकुम्बासी बस्तिमा बसेका उनीहरुको नेपाली नागरिकताको प्रमाणपत्र बाहेक केही छैन । रातदिन उनीहरुलाई गासँ, बास, कपासकै पिरलो छ ।
३१ बर्षिय मनोज नटुवा राज्यले आफुहरुलाई लोपोन्मुख जातीको सुचिमा नराखेकोमा गुनासो गर्छन । राज्य संग लोपोन्मुख जातीको सुचीमा राख्न माग गर्न थालेको तीन दशक वित्यो तर अझै माग पुरा भएको छैन, ‘उनले गुनासो गरे ।’ थर नटुवा भएको नागरिकता बनाए पनि आफुहरु पथ्थरकट्टा भन्दा तल्लो जाती भएको उनले बताए । ‘हामीभन्दा पथ्थरकट्टा उपल्लो जाती हो उनले भने, ‘हामीले छोएको पानी पनि खादैनन पथ्थकट्टाहरु ।’ पथ्थरकट्टालाई राज्यले लोपोन्मुखको सूचीमा राखेर सरकारी सेवासुविधा दिएको छ तर हामीलाई दिएन उनले भने, ‘सरकारी सुविधा माग्न जादा किन दिदैनन उनले प्रश्न गरे ।’
आसन्न मंसिर २१ को प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा उनीहरुको साझा माग छ, जसले लोपोन्मुख जातीको सुचिमा राख्छ उसैलाई भोट दिने । ‘आफुहरुलाई लोपोन्मुख जातीको सुचीमा राख्न पहल गर्ने उम्मेदवारलाई भोट दिन्छौँ, मनोज नटुवाले भने ।’ पटक पटक चुनावमा उठ्ने उम्मेदवार संग आफुहरुले उक्त माग गर्ने गरेको उनले बताए । ‘हामी दलित जाती भन्दा पनि तल्लो जाती हौ, जातीय संख्यामा पनि निकै कम छौँ उनी प्रश्न गर्छन्, किन हाम्रो माग राज्यले सुन्दैन ।’
दिनभरी भिक्षा मागेर जिविकोपार्जन गर्ने उनीहरुको दैनिक बनेको छ । पुरुषले सर्प नचाएरै भिक्षा माग्ने गरेका छन भने महिला तथा बालबालिकाहरुले भिक्षा मागेर ज्यान पाल्दै आएका छन । नटुवा बसोबासका बरपर ठुला ठुला पक्की घर छन्, अगाडी हुलाकी मार्ग छ, नजिकै विद्यालय छ तर उनीहरुको जीवन अन्धकारमा व्यतित छ । सरोकारवालाबाट नटुवालाई लोपोन्मुख जातीको सुचिमा पहल गर्ने आश्वसन दिन थालेको करिब एक दशक वित्न थालेको महेन्द्र नटुवाले बताए । हरेक पटक आउने प्रमुख जिल्ला अधिकारीलाई भेटेरै माग राख्दै आएको उनले सुनाए ।
नेपाली भाषा कमले मात्र बुझ्ने र बोल्ने गर्दा पनि उनीहरुको माग पुरा हुन सकेको छैन । मजुरा गर्न गयौँ भने हामीलाई हेप्ने गरिएको उनीहरुले गुनासो गर्छन । खाने र बस्ने ठेगान नहुँदा धेरैजसोले खान नपाएर इन्डियन नागरिक नेपाल माग्न आएको भनि हेप्ने गरेको उनीहरुले दुखेसो गरे । ‘कतिपयले हामीलाई इन्डियन नागरिक भनेर हेप्ने गरेका छन्, गशेण नटुवाले भने, तर हामी संग तीन पुताको नेपाली नागरिकताको प्रमाणपत्र छ ।’ २०६८ सालको राष्ट्रिय जनगणना अनुसार कपिलवस्तुमा ३ सयको हारहारीमा नटुवा जातीको बसोबास रहेको छ ।

 

प्रकाशित मिति : २० मंसिर २०७४ बुधबार ००:००  २ : ४५ बजे