१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

१६ औँ कपिलवस्तु महोत्सवमा पहिलो पटक स्त्री ब्याण्डको प्रस्तुती रहने



मायादेवी अनलाइन, जितपुर ।
मंसिर १८ देखि पुष १ गतेसम्म सञ्चालन हुने १६औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रर्दशनीमा पहिलोपटक स्त्री व्यान्डको सहभागिता हुने भएको छ। पूर्ण रूपमा युवतीहरूद्वारा सञ्चालन हुने यो व्यान्ड महोत्सवको विशेष आकर्षण बन्ने बताउँदै बाणगंगा वेयलफेयर सोसाइटीका वरिष्ठ उपाध्यक्ष खड्क बहादुर आलेले यसले महोत्सवमा नयाँपन र ऊर्जा थप्ने बताए।

आयोजकका अनुसार स्त्री व्यान्डको लाइभ प्रस्तुति महोत्सवकै मुख्य आकर्षणमध्ये एक हुनेछ। साथै महोत्सव स्थलमा विभिन्न कृषि तथा औद्योगिक प्रदर्शनी, स्थानीय उत्पादन र घरेलु उद्योगका सामग्री प्रदर्शन तीव्र गतिमा तयारी भइरहेका छन्।

महोत्सवमा स्नो सिटी (हिउँमा खेल्ने अनुभूति), जलपरी, सुनामी पिङ सहितका आधुनिक संरचनाहरू निर्माण भइरहेका छन्। त्यस्तै १४औँ कपिलवस्तु डान्स आइडल, मम्मी डान्स, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सांस्कृतिक कार्यक्रम, खाद्यान्न स्टल, व्यापारिक प्रदर्शनी, बाल उद्यान तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरूले महोत्सवलाई झनै आकर्षक बनाउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य स्थानीय कृषिजन्य उत्पादन, पर्यटन सम्भावना र घरेलु उद्योगहरूको प्रवर्द्धन रहेको छ। महोत्सवमा बाणगंगा मात्र नभई वरपरका जिल्लाबाट समेत ठूलो संख्यामा दर्शक आउने विश्वास लिइएको छ।

प्रकाशित मिति : १४ मंसिर २०८२ आइतबार ००:००  ६ : २९ बजे