१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जिम्मेवार को बन्ने, प्रत्यक्ष तर्फ २७ हजार बढी मत बदर !



मायादेवी अनलाइन, तौलिहवा, २ पुस ।
मतदाता शिक्षा प्रत्येक मतदाता सामु पु¥याउने उद्देश्य राखेर लाखौ रकम खर्च गरिए पनि उपलब्धी बालुवामा पानी खनाए सरह भएको छ । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले यसपालीको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी बनाउन ८० लाख खर्च गरेको जनाएको छ । तर उपलब्धी हेर्दा बालुवामा पानी खनाए सरह देखिन्छ । मतदाता शिक्षा औपचारिक रुपमा सञ्चालन गरिएको भनिए पनि मतदाता शिक्षा दिनैपर्ने मतदाता सामु पुग्न नसक्दा यस्तो भएको हो । विहिबार सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्फको प्रतिनिधि र प्रदेशसभा गरि जिल्लामा खसेको मत मध्ये २७ हजार २ सय ५७ मत बदर भएको छ ।
प्रतिनिधिसभा १ मा १ लाख १६ हजार ९ सय ३७ मतदाता मध्ये ८५ हजार ४ सय ६१ मत खसेको थियो । जस मध्ये ४ हजार ४ सय ७४ मत बदर भएको छ । प्रदेशसभा (क) मा ६८ हजार ५ सय ३१ मतदाता मध्ये ५१ हजार ४ सय ७९ मत खसेको थियो । त्यसमध्ये १ हजार ९ सय ९ मत बदर भएको छ । यो प्रदेश निर्वाचन क्षेत्र जिल्लाका अरु क्षेत्र मध्ये शिक्षा, स्वास्थ्य र विकासको पूर्वाधारमा राम्रो मानिन्छ । प्रदेशसभा (ख) मा ४८ हजार ८ सय ६ मतदाता मध्ये निर्वाचनमा ३३ हजार ८ सय ८५ मत खसेको थियो । त्यसमध्ये २ हजार ५ सय ६३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएकोछ ।
प्रतिनिधिसभा २ मा पनि बदर मतको संख्या उत्तिकै मात्रामा बढी छ । कुल १ लाख २ हजार ४ सय २० मतदाता मध्ये यस क्षेत्रमा ७५ हजार ९ सय ८९ मत खसेको थियो । जसमा ४ हजार ७३ मत बदर भएको छ । प्रदेशसभा (क) मा ५५ हजार १ मतदाता रहेका थिए । त्यसमध्ये ३९ हजार २ सय २८ मत खसेको थियो । जसमा १ हजार ६ सय ४६ मत बदर भएको छ । प्रदेशसभा (ख) मा ४७ हजार ४ सय १९ मतदाता मध्ये २९ हजार २ सय ७४ मत खसेको थियो । जसमा २ हजार ७६ मत बदर भएको छ ।
प्रतिनिधिसभा ३ मा कुल ९२ हजार ४ सय ३ मतदाता मध्ये ६८ हजार ९ सय २ मत खसेको थियो । जसमा ५ हजार २ सय ६५ मत बदर भएको छ । प्रदेशसभा (क) मा ४८ हजार ९ सय ४० मतदाता रहेका थिए । जसमा ३७ हजार ७ सय १ मत खसे मध्ये २ हजार ६ सय १४ मत बदर भएको छ । प्रदेशसभा (ख) मा ४३ हजार ४ सय ६३ मतदाता मध्ये ३१ हजार २ सय ८० मत खसेको थियो । जसमा २ हजार ६ सय ३७ मत बदर भएको छ ।
जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अधिकृत ज्ञानहरी घिमिरेका अनुसार मतपत्रमा ल्याप्चे लगाउने, कोठा बाहिर छाप लगाउने, एउटै मतपत्रका दुई मत चिह्नमा छाप लगाउने मतदाताको संख्या बढी रहेको छ । मतदाता शिक्षा सबै क्षेत्रमा पु¥याउनका लागि निर्वाचन कार्यालयले ४ सय १० स्वयमसेवक खटाएको थियो । उनीहरु गाउँका दुरदराजमा भन्दा शहर बजार केन्द्रित रहेर मतदाता शिक्षा दिइरहेको भन्ने गुनासा आईरहँदा पनि निर्वाचन कार्यायल गम्भिर देखिएको थिएन । चुनावको अघिल्लो दिनसम्म धेरै मतदातालाई के को चुनाव हुदैछ भन्ने पनि थाहा थिएन ।
असारमा सम्पन्न दोस्रो चरण अन्तरगतको स्थानीय तह निर्वाचनमा २८ प्रमुख पदलाई आधार मान्दा २८ प्रतिशत सम्म मत बदर भएको थियो । यस प्रति राजनीतिक दलहरुपनि चिन्तित देखिएका थिए तर विहिबार सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि बदर मतको संख्या उलेख्य भएपनि राजनीतिक दल अक्रोसित भएका छन । जिल्लामा ३ लाख ११ हजार ७६० मतदाता मध्ये ७३ दशमलव प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २ पुस २०७४ आइतबार ००:००  १ : २७ बजे