१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

एमाले नेता योगेश भन्छन्, ओली र प्रचण्डले राजनीतिबाट ‘सन्यास’ लिनु पर्छ



काठमाडौं, १६ पुस ।
नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिबाट सन्यास लिन सुझाव दिनुभएको छ ।
काठमाडौंमा एमालेको पेशागत विशेष जिल्ला कमिटिले गरेको कार्यक्रममा नेता भट्टराईले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टी एकताको प्रक्रिया पूरा गरेर राजनीतिबाट सन्यास लिन आग्रह गर्नुभएको हो ।
पार्टी एकता नागरिकबाट अनुमोदन भइसेकाले अब चाँडै नै एकताको घोषणा गरी त्यहि कार्यक्रममा दुई नेताले राजनीतिबाट सन्यास लिन सुझाव दिनुभएको हो । उहाँले भन्नुभयो ‘पार्टी एकताको प्रक्रिया पूरा गरेपछि उहाँहरुले राजनीतिको परीक्षामा पूर्णाङ्क प्राप्त गर्नुहुन्छ । अब पनि अध्यक्ष वा प्रधानमन्त्री बन्छु भन्नु फेरि परीक्षामा सहभागी हुनु जस्तै हो । उहाँहरुले सतप्रतिशत अंक ल्याएर पास भएकाले फेरि परीक्षा दिनु आवश्यक छैन ।’
एकीकृत पार्टी तथा देशको नेतृत्वको जिम्मा अब दोस्रो तथा तेस्रो पुस्ताको काँधमा दिएर ओली र प्रचण्डले राजकीय व्यक्तित्व बनेर देश, विदेशका ठूला विश्वविद्यालयमा नेपालको शान्ति प्रक्रिया र राजनीतिक व्यवस्थापनका बारेमा लेक्चर दिन जानु पर्ने भट्टराईको भनाई छ ।
यस्तै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र कानुनमा रहेको छिद्र खोजेर सत्ता लम्ब्याउन खोजेको बताउँदै बहुदलीय व्यवस्थामा बहुमत ल्याउने पक्षले सरकार बनाउन पाउने भएकाले त्यसका लागि मार्ग प्रसस्त गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १६ पुस २०७४ आइतबार ००:००  ६ : ३९ बजे