४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कृष्णनगर भन्सारमा बार्षिक लक्ष्यको ५२ प्रतिशत राजश्व उठ्यो



दिपक अनुरागी, कपिलवस्तु, २० पुस ।
लुम्बिनी अञ्चलको दोस्रो ठुलो भन्सार नाका कृष्णनगर भन्सार कार्यालयले साढे ५ महिनामा बार्षिक लक्ष्यको झण्डै ५२ प्रतिशतको आकडा पार गरेको छ । चालु आर्थिक बर्ष २०७४÷०७५ को साउन देखि पुस १५ गते सम्म कार्यालयले रु.२ अर्व १४ करोड ४१ लाख ४८ हजार राजस्व संकलन गरेको छ । भन्सारलाई चालु आर्थिक बर्षका लागि रु.४ अर्व १३ करोडको लक्ष्य तोकिएको छ । साउन महिनामा रु. २८ करोड ९१ लाख ३८ हजारको लक्ष्य दिईएकोमा १ सय ३३ दशमलव ६३ प्रतिशत अर्थात रु.३८ करोड ६३ लाख ७८ हजार राजस्व संकलन भएको छ ।
भदौ महिनामा रु.३३ करोड ४ लाख ४४ हजारको लक्ष्य राखिएकोमा १ सय २६ प्रतिशत अर्थात रु.४१ करोड ६४ लाख ८९ हजार राजस्व उठेको छ । असोजमा रु.२८ करोड ९१ लाख ३८ हजार लक्ष्य मध्ये १ सय ६७ प्रतिशत अर्थात रु.४८ करोड ३३ लाख ६३ हजार, कार्तिकमा रु.३३ करोड ४ लाख ४४ हजार लक्ष्य राखिएकोमा १ सय दशमलव २० प्रतिशत अर्थात रु.३३ करोड २० लाख १५ हजार राजस्व उठेको छ ।
मंसिर महिनामा रु.३३ करोड ४ लाख ४४ हजारको लक्ष्य मध्ये १ सय दशमलव ४८ प्रतिशत अर्थात रु.३३ करोड २० लाख १५ हजार राजश्व उठेको छ । पुस महिनामा रु.३३ करोड ४ लाख ४४ हजारको लक्ष्य मध्ये १५ गते सम्म ५९ दशमलव प्रतिशत अर्थात १९ करोड ४८ लाख बराबरको राजश्व उठेको छ । वितेका साढे ५ महिना सम्म भन्सारले मासिक लक्ष्य पुरा गराएको देखिन्छ । यसले पनि बार्षिक लक्ष्य पुरा हुनेमा कर्मचारीहरु विश्वस्त रहेका छन ।
कृष्णनगर भन्सार प्रमुख बिन्देश्वर प्रसाद लेखकले करिब साढे ६ महिना मै बार्षिक लक्ष्यको ५२ प्रतिशतको आँकडा पार गर्नु सकारात्मक कुरा भएको बताए । उनले यथार्थपरक बर्गीकरण र मुल्यांकनले लक्ष्यको तुलनामा बढी राजस्व संकलन गर्र्न सफल भएको बताए । चोरीपैठारी हुने नाकाहरुको दिनहुँ गस्ति, फर्म क्षेत्रको निगरानी बढाईएकाले राजश्व असुलीको परिणाम राम्रो देखिएको भन्सार प्रमुख लेखकले जनाए । साथै उनका अुनसार भारतीय समकक्षीहरुसंग समेत समन्वय बढाएको छ ।
जिल्लामा मुल भन्सार कार्यालय कृष्णनगर सहित थप ५ छोटी भंसार सञ्चालनमा रहेका छन । सुठौली, चाकलचौडा, भिल्मी, हरिहरपुर र कृष्णनगरको पुरानो गेटको भंसार सञ्चालनमा छन । भंसार नाकाबाट सिमेन्टका कच्चा पदार्थ (क्लिङ्कर), खरानी, जिप्सम, आईरन डस्ट र बक्ससाईटको आयातबाट सबै भन्दा बढी राजस्व उठेको भन्सार अधिकृत नरेन्द्र प्रसाद चौधरीले बताए ।
यस्तै कोईला, जीरा चामल र कनिका, गहुँ, खसीबोका, फलफुल, तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पाटपुर्जा आयातबाट पनि राजश्व संकलन भएको भन्सार अधिकृत चौधरीको भनाई छ । भन्सारलाई सुचना र प्रबिधिमैत्री बनाउन आशीकुडावर्ड प्रणाली लागु गरिएकाले त्यसले पनि भन्सार असुरीमा सकारात्मक असर देखिएको भन्सार कर्मचारी बताउँछन ।
नेपालको सिमानाबाट सबैभन्दा नजिकको ब्रोडगेज लाईन भएको भारतिय रेलवे स्टेसन भएकाले पनि यो नाकाबाट आउने दिनहरुमा बढी राजस्व संकलन हुने देखिएको भन्सार प्रमुख लेखकले बताए ।

 

प्रकाशित मिति : २० पुस २०७४ बिहिबार ००:००  १ : ३० बजे